काठमाण्डौ ।
प्रतिनिधि सभा विघटनविरुद्धको रिटमा आज पनि सर्वोच्च अदालतमा रिट निवेदकतर्फका वकिलहरुको जवाफी बहस हुँदैछ । जवाफी बहसका लागि ३ घण्टा समय तय गरिएकोमा निवेदकका तर्फबाट वरिष्ठ अधिवक्ता रमणकुमार श्रेष्ठले हिजो एक घण्टा बहस गर्नुभएको थियो ।
आज वरिष्ठ अधिवक्ताहरु बद्रीबहादुर कार्की, हरिहर दाहाल र शम्भु थापाले जवाफी बहस गर्नेछन् । जवाफी बहस सकिएपछि एमिकस क्युरीको तर्फबाट राय प्रस्तुत हुनेछ । एमिकस क्युरीका लागि दुई घण्टाको समय छुट्याइएको छ । एमिकस क्युरीमा सर्वोच्च अदालत बार एसोसिएशनका तर्फबाट वरिष्ठ अधिवक्ता कोमल प्रकाश घिमिरे र प्रकाशबहादुर केसी तथा नेपाल बार एसोसिएशनका तर्फबाट वरिष्ठ अधिवक्ता राघवलाल वैद्य र उषा मल्ल पाठक हुनुहुन्छ। एमिकस क्युरीले राय प्रस्तुत गरेपछि संवैधानिक इजलासले फैसला गर्नेछ ।
गएको जेठ ८ गते प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधि सभा विघटन गरेपछि त्यसविरुद्ध नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासहित १ सय ४६ जना सांसदले सर्वोच्च अदालतमा रिट दायर गरेका थिए ।
प्रतिक्रिया