दिपक खड्का, चन्द्रौटा ।
कपिलवस्तुको शिवराज नगरपालिकाले उद्यमी समूहलाई डोरी बनाउने मेसीन हस्तान्तरण गरेको छ । गरिवी निवारणका लागि गठन गरिएको लघु उद्यम विकास कार्यक्रम अन्तरगत मुख्यमन्त्री ग्रामीण विकास तथा रोजगार कार्यक्रमबाट शिवराज भित्र रहेका उद्यमी समूहलाई उप-मेयर शिवकुमारी थारुले डोरी बनाउने मेसीन हस्तान्तरण गर्नुभएको हो ।
अति विपन्न घरपरिवारका सदस्यहरुलाई सामग्री वितरण गरिएको मुख्यमन्त्री ग्रामीण विकास तथा रोजगार कार्यक्रमका संयोजक विजय सापकोटाले बताउनुभयो । अति विपन्न परिवारका सदस्यहरुलाई लक्षित गरि सामग्री वितरण गरिएको सापकोटाले जनाउनुभयो ।
कोभिड-१९ का कारण आर्थिक अवस्था झनै कमजोर भएको बेला शिवराज नगरपालिकाले सहयोग प्रदान गरेको र उक्त वितरण गरिएको सामग्रीबाट व्यवसाय गरेर आर्थिक आयआर्जनमा सजिलो हुने समूहका सदस्यहरुले बताएका छन् ।
सामग्री हस्तान्तरण कार्यक्रममा आफ्नो भनाई राख्दै शिवराज नगरपालिकाका उपमेयर थारुले जिविकोपार्जनका लागि समूहले स्थानीय स्तरबाट प्राप्त उपलब्ध हुने सामग्री र वस्तुहरुको सदुपयोग गरि आयआर्जन गर्नु राम्रो पक्ष भएको र नगरपालिकाबाट थप सहयोग उपलब्ध गराईने बताउनुभयो ।
शिवराजमा गठन भएका श्रृजनशील लघु उद्यम समूह, जागृती लघु उद्यम समूह र शिवगढी लघु उद्यम समूहलाई दुई/दुई वटाका दरले ६ वटा वावियो डोरी मेसिन हस्तान्तरण गरिएको हो । कार्यक्रममा सलेन्द्र सिहं राजमाझी लगायतको उपस्थिति रहेको थियो ।
प्रतिक्रिया