बिष्णु कुमार आले, अर्घाखाँची ।
किसानले गोरु नपाएर हैरानी खेपिरहेका बेला मिनिटेलर पाउँदा अर्घाखाँचीको शितगंगा ६ का किसान खुशीले फुरूंग भएका छन् । वडा कार्यालयले पचास प्रतिशत अनुदानमा किसानलाई मिनिटेलर दिएपछि किसान खुसी भएका हुन् ।
किसान खुसीले दङ्ग
खेती गर्न गाउँमा गोरु नपाईएका बेला वडा कार्यालयले किसानको दुःख बुझेर मिनिटेलर उपलब्ध गराउँदा खुसी लागेको वडाको ठुलाढुङग्रे दर्लामी कृषि फर्मका सन्दिप दर्लामीले बताए । कृषि फर्ममा मौसमी वेमौसमी तरकारी खेति गर्न कठिन भैरहेका बेला मिनिटेलर पाउँदा खुसी लागेको बताए । जोत्ने गोरु गाउँमा कसैले पाल्दैनन्, गोरू नभएपछि खेती गर्नै दुःख, उनले दुखेसो पोखे ।
मिनिटेलर सानो हाते ट्याक्टर भन्दा पाँच गुना बलियो र ठूलो भएकाले काम गर्दा छिटो मेलो सर्ने दर्लामीको भनाई छ । उनी मात्र होईन् माछापुच्छ्रे कृषि समूह खमारीका किसान खुमबहादुर भाटको बेथा पनि उस्तै छ । जब खेतबारीमा खेती गर्ने बेला आउँछ जोत्ने गोरूनै पाईदैन । गाउँमा नत जनशक्ति छ नत जोत्ने गोरु नै, यस्तो अवस्थामा मिनिटेलर पाउँदा खेतिपाती गर्दा कम समयमा धेरै जमिनमा अन्नबाली लगाउन सकिने हुँदा हामी गरिखाने किसान खुसी छौं, उनले भने । अब गाउँमा बाँझो रहेको जमिन पनि जोतिने र उत्पादन पनि बढ्ने बिश्वास उनको छ ।
किसानको दुःख देखेर मिनिटेलर दियौँः वडाध्यक्ष रेश्मीमगर
कृषि सामग्री नहुँदा वडाका विभिन्न ठाउँमा सयौं रोपनी खेतीयोग्य जमिन बाँझै रहने र ह्रास हुँदै आएको स्थानीय उत्पादनलाई वृद्धि गरी यहाँका किसानलाई कृषिमा आत्मनिर्भर बनाउन पनि वडाले किसानलाई मिनिटेलर दिएको वडा अध्यक्ष ऋषि रेश्मीमगरले बताए।
गाउँमा किसानले गोरु पाल्न छोडेपछि जोत्नका लागि गोरु छैनन् । एकापट्टी जनशक्तिको कमी, अर्को जोत्ने गोरु नहुँदा सयौं खेतीयोग्य जमिन बाँझो राखेर युवा जनशक्ति जति खाडीमुलुक वा भारतमा रोजगारीका लागि जानुपर्ने स्थितिको अन्त्य गर्न पनि किसानलाई कृषि सामग्री दिएको अध्यक्ष रेश्मीमगरको भनाई छ ।
खेतबारी जोत्न मिनिटेलर दिएपछि उत्पादन बढ्ने र खेतीयोग्य जमिन पनि बाँझो नरहने, किसानले उत्पादन गरेको अन्नबालीले वर्ष भरिलाई खान पुगेपछि अरू समयमा किसानको काम गरी आर्जन गरेको पैसा पनि बचत हुने विश्वास अध्यक्ष रेश्मीमगरको छ ।
आइतबार एक कार्यक्रमका बीच शीतगंगा ६ का ६ ओटा कृषक समूहलाई मिनिटेलर वितरण गरिएको हो । शितगंगा ६ का जनजागृती कृषक समूह चिसापानी, हरियाली कृषक समूह ठुलाढुङग्रे, घिमिरे पशुफर्म कल्लेरी, दर्लामी कृषि फर्म ठुलाढुङग्रे, माछापुच्छ्रे कृषक समूह खमारी र फुलबारी कृषक समूहका सदस्यलाई मिनिटेलर बितरण गरिएको हो । मिनिटेलर पाएपछि समय र लगानी बचत हुने भन्दै किसान उत्साहित भएका हुन् ।
प्रतिक्रिया