मायादेवी अनलाइन, चारनम्बर ।
कपिलवस्तु बुद्धभूमि नगरपालिकाका नगर प्रमुख केशव कुमार श्रेष्ठले कोरोना कहरमा परेका बालबालिकाका समस्या सुन्दै समाधानको प्रतिवद्धता जनाउनुभएको छ ।
‘मेयरसंग बालबालिका’ को दोस्रो श्रृङ्खला अन्तरगत वडा नं. ४ मा भएको कार्यक्रममा सहभागी बालबालिकाले राखेका प्रश्नहरुको जवाफ दिदैं अब केहीँ समय पछि बैकल्पिक शिक्षालाई जोड दिने बताउनुभयो । अहिले विद्यालय कसरी सञ्चालन गर्ने भन्ने विषयमा विभिन्न क्षेत्रबाट राय सुझाव लिइरहेको भन्दै अब केही समय पछि निचोडमा पुग्ने उहाँले बताउनुभयो । गत बर्षको बैकल्पिक शिक्षा सञ्चालनमा उदाहरण दिदैं आफुहरुले गरेको यो अभ्यास नेपालभित्रै नौलो रहेको सुनाउनुभयो । प्रत्येक शिक्षकलाई घर घरमा खटाएर गत बर्ष शिक्षा क्षेत्रलाई अगाडी बढाएको भन्दै यो बर्ष पनि नयाँ काम गर्ने उहाँले बताउनुभयो । साथै इन्टरनेटको पहुँचमा हुनेहरुको लागि पनि नगरले व्यवस्था गर्ने बताउनुभयो ।
भौतिक विकासले मात्र समग्र विकास नहुने भन्दै आफ्नो ध्यान शिक्षा क्षेत्रमा बढी गएको बताउनुभयो ।
सहभागी बालबालिकाले आफुहरु इन्टरनेट पहुँच बाहिर रहेको बताएका थिए । उनीहरुले रेडियो कक्षा र बैकल्पिक माध्यमलाई जोड दिदैं कोरोनाका कारण बन्द रहेको शिक्षा क्षेत्रलाई सुचारु गर्न मेयरसंग आग्रह गरेका थिए । विद्यालय नै खुल्ने सम्भावना आफुहरुले नदेखेको र कोरोनाको तेस्रो लहरमा बालबालिका पर्ने सक्ने विज्ञले बताइरहेको भन्दै बैकल्पिक माध्यमको प्रयोग गरी शिक्षण प्रक्रिया आगाडी बढाउन बालबालिकाले माग गरेका हुन् ।
कार्यक्रममा कोरोना भाइरसका कारण कतिपय बालबालिका कुलतमा फसेको पनि उनीहरुले जानकारी गराए । लामो समय विद्यालय बन्द हुँदा घरमै बसेका बालबालिका कुलतमा फस्न थालेको भन्दै यता तिर विशेष ध्यान दिन मेयर, वडाध्यक्ष र शिक्षकसंग आग्रह गरे ।
वडाध्यक्ष पवनकुमार चौधरीले वडा भित्र रहेका सबै विद्यालयको सुधारमा आफु लागि परेको जनाउनुभयो । बजेट भ्याएसम्म आफुले शिक्षा क्षेत्रमा लगानी बढाएको भन्दै आवश्यक राम्रा सुझावका लागि सबैसंग आग्रह गर्नुभयो ।
भृकुटी माविका प्रधानाध्यापक वेदराज भुसालले विद्यालय भित्र रहेका समस्या समाधानमा आफु लागि पर्ने प्रतिवद्धता जनाउनुभयो । मेयरसंग बालबालिका कार्यक्रमको पहिला अंक वडा नं. १ मा छायाङ्कन गरिएको थियो । ‘मेयरसंग बालबालिका’ कार्यक्रम मायादेवी टिभी, मायादेवी अनलाइन डटकमबाट हेर्न सकिनेछ भने रेडियो मायादेवी १०६ थोप्लो १ मेगाहर्जबाट सुन्न सकिने छ ।
प्रतिक्रिया