८ मंसिर २०८१, शनिबार | Sat Nov 23 2024

मेरा कारण एकताको प्रयास सफल नभएको भन्ने ओलीको भनाइ झुटो र षड्यन्त्रपूर्ण छः प्रचण्ड



काठमाण्डौ ।

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफ्नै कारण एकताको प्रयास सफल नभएको भन्ने प्रधानमन्त्री केपी शर्मा ओलीको भनाइमा सत्यता नरहेको बताउनुभएको छ ।

प्रचण्डले सामाजिक सञ्जालमा लेख्नुभएको छ, ‘प्रधानमन्त्री केपी शर्मा ओलीले प्रचण्डको कारण एकताको प्रयास सफल नभएको भन्ने भनाइ झुठ, भ्रामक र षड्यन्त्रपूर्ण छ । त्यस प्रकारको अभिव्यक्तिको घोर निन्दा र भर्त्सना गर्दछु ।’

आइतवार साँझ ६ बुँदे विज्ञप्ति निकालेर ओलीले नेकपा एमाले एकताका लागि आह्वान गर्नुभएको थियो । उहाँले पार्टीलाई एकताबद्ध बनाउन २०७५ जेठ ३ अघिको पूर्वास्थाबाट अगाडि बढाउन तयार रहेको घोषणा गर्नुभएको थियो ।

विज्ञप्तिमा ओलीले कम्युनिस्ट आन्दोलनलाई एकताबद्ध बनाएर मात्रै देशको राष्ट्रिय एकतालाई सुदृढ गर्न सकिन्छ भन्ने विश्वासका साथ २०७५ जेठमा पार्टी एकीकरणको ऐतिहासिक निर्णय गरिएको बताउनुभएको थियो । तर पुष्पकमल दाहाल ‘प्रचण्ड‘ को अनिच्छाका कारण आफ्नो प्रयास सफल हुन नसकेको उहाँले बताउनुभएको थियो ।

‘एकीकरणको मुख्य पहलकर्ता र प्रस्तावकका रूपमा मेरो भूमिका कस्तो थियो भन्ने कुरा यहाँ दोहोर्‍याइरहन आवश्यक देख्दिनँ । पार्टीको प्रथम अध्यक्ष हुनुको नाताले मैले यसमा आफै पहल पनि लिएको हुँ । तर पुष्पकमल दहाल ‘प्रचण्ड‘ को अनिच्छाका कारण मेरो प्रयास सफल हुन सकेनु ओलीले विज्ञप्तिमार्फत भन्नुभएको थियो ।

प्रकाशित मिति : २४ जेष्ठ २०७८ सोमबार ००:००  २ : ४७ बजे