चितवन ।
चितवनमा मगर गोहीको आक्रमणबाट एक व्यक्तिको मृत्यु भएको छ। सोमबार चितवन राष्ट्रिय निकुञ्ज भएर बहने राप्ती नदी किनारमा गोहीको आक्रमणबाट अन्दाजी ३५ वर्षका छन्नुराम बोटेको मृत्यु भएको हो। भरतपुर महानगरपालिका २४ ध्रुवघाट क्षेत्रमा गोहीले बोटेलाई आक्रमण गरेको थियो। मृत बोटे भरतपुर २५ बस्कट्टा निवासी हुन्। उनी गैरकानुनी रूपमा रातिको समयमा निकुञ्जमा माछा मार्न जाँदा गोहीले आक्रमण गरेको अनुमान निकुञ्जले गरेको छ।
निकुञ्जले राप्ती र नारायणीमा माछा मार्न लाइसेन्स अनिवार्य गरेको छ। वैशाखदेखि असार मसान्तसम्म भने माछाको प्रजनन् तथा भुरा हुर्काउने समय भएकोले माछा मार्ने लाइसेन्स प्राप्त व्यक्तिलाई समेत माछा मार्न निषेध गर्ने गरिएको छ। माछा दुर्लभ घडियाल गोहीको प्रमुख आहरा भएका कारण निकुञ्जले माछा मार्नमा कडाई गर्ने गरेको छ। केही दिनअघि मात्रै निकुञ्ज प्रशासनले नारायणी नदीबाट माछा मार्न प्रयोग गरिएका तियारी जाल र माछासहित दर्जनौं व्यक्तिलाई नियन्त्रणमा लिई कारबाही गरेको थियो।
नदी आसपासमा बसोबास गर्ने बोटे समुदाय भने आफ्नो परम्परागत पेशा नै माछा मार्ने रहेको भन्दै लुकीछिपी नदीमा पुग्ने गरेका छन्। आर्थिक वर्ष २०७७-०७८ मा हालसम्म निकुञ्ज र यसको मध्यवर्ती क्षेत्रमा १२ जनाको वन्यजन्तुको आक्रमणबाट मृत्यु भएको छ।
३ जनाको हात्ती, ३ जना बाघ, ३ जना गैंडा र १-१ जनाको गौरी गाई, बँदेल र मगर गोहीको आक्रमणबाट मृत्यु भएको निकुञ्जका सूचना अधिकारी लोकेन्द्र अधिकारीले बताए। यो अवधिमा वन्यजन्तुको आक्रमणबाट २३ जना घाइते भएका छन्। नियम उल्लंघनका घटना बढिरहँदा निकुञ्जले निषेधाज्ञाको समयमा अनावश्यकरुपमा जंगल तथा नदी क्षेत्र प्रवेश नगर्न सचेत गराएको छ।
प्रतिक्रिया