८ मंसिर २०८१, शनिबार | Sat Nov 23 2024

दिउँसोको गर्मीमा श्रमिकलाई काममा लगाउने ६६ रोजगारदाता विरुद्ध उजुरी



काठमाण्डौ ।

कुवेतमा दिउँसोको समयमा श्रमिकलाई काममा लगाउने ६६ रोजगारदाता विरुद्ध उजुरी दर्ता भएका छन् । दिउँसोको समयका श्रमिकलाई काममा नलगाउने कुवेत सरकारको निर्देशन विपरीत काममा लगाएको भन्दै ६६ रोजगारदाता विरुद्ध उजुरी दायर गरिएको गल्फ न्युजले जनाएको छ ।
दिउँसोको चर्को घाममा काम गर्दा श्रमिकको स्वास्थ्यलाई असर पर्ने भन्दै मानव अधिकारकर्मीले विरोध जनाउँदै आएका थिए । सरकारले नियम लागू गरे पनि केही व्यवसायीले भने सरकारको निर्देशन उल्लंघन गरेको अधिकारकर्मीले बताएका छन् ।

अत्याधिक तापक्रमबाट श्रमिकलाई बचाउन भन्दै गएको जुन १ देखि कुवेतले दिउँसोको समयमा सिधै घाम पर्ने खुल्ला ठाउँहरूमा काम गर्न रोक लगाएको थियो । यो नियम सडक सरसफाइ कर्मचारी, निर्माण क्षेत्रमा काम गर्ने श्रमिक र मोटरसाइकलमा डेलिभरीको काम गर्नेहरुमा लागू हुने निर्देशनमा उल्लेख छ ।

कुवेतमा गर्मी अत्याधिक हुने जुन, जुलाइ र अगस्ट महिनाभर यो नियम लागू हुनेछ । यो अवधिमा बिहान ११ बजेदेखि दिउँसो ४ बजेसम्म खुल्ला ठाउँमा काम गर्न रोक छ ।

प्रकाशित मिति : २४ जेष्ठ २०७८ सोमबार ००:००  १ : ०५ बजे