काठमाडौं ।
प्रधानमन्त्री केपी शर्मा ओलीले शर्तसहित २०७५ जेठ ३ अर्थात् एकतापूर्वको अवस्थामा फर्कन राजी भएपछि खनाल–नेपाल समूहमा मत विभाजित भएको छ । योगेश भट्टराईसहितका नेताले प्रधानमन्त्रीको ६ बुँदे प्रस्तावले एकताको वातावरण बनाउने बताइरहेका बेला अष्टलक्ष्मी शाक्यले भने विथोल्ने बताएकी छन् ।
“तपाईंहरू प्रष्ट हुनुस् । पार्टी अध्यक्ष केपी शर्मा ओलीको प्रस्तावले कुनै सहमतिको वातावरण बनाउँदैन,” उनी भन्छिन्, “अदालतमा मुद्दा विचाराधीन भइरहेका बेला त्यसलाई प्रभावित पार्नेगरी आएको छ । ओलीको प्रस्तावमा टेकेर कुनै समझदारी हुँदैन । हामी हाम्रो मान्यतामा अडिग छौँ ।”
उनले हस्ताक्षर फिर्ता नहुने अडान पनि राखिन् । “प्रधानमन्त्री ओलीले आफ्नो कदम गल्ती थियो भनेर भनेका छैनन्,” उनले भनिन्, “आफ्ना गल्ती नदेख्ने, अरूमात्रै सच्चिनुपर्छ भनेर कहाँ सहमतिको वातावरण बन्छ । यो नयाँ चालबाजी हो ।”
ओलीको प्रस्तावप्रति एकीकृत धारणा बनाउन खनाल–नेपाल समूहले आज छलफल गर्दैछ । स्थायी कमिटी बैठक बसेर साझा धारणा सार्वजनिक गर्ने भनिए पनि समय भने तय भइनसकेको शाक्यले बताइन् ।
प्रतिक्रिया