लेखनाथ न्यौपाने ।
बुधबार १९ मे, होचि मिन्हको जन्म दिन । उनीबाट हामीले के सिक्ने ? सन् १९४५ सेप्टेम्बर २ मा कमसल खाकीको पाइन्ट, कमिज र टायरको चप्पल लगाएर हो चि मिन्हले मुलुक उपनिवेशबाट स्वतन्त्र भएको घोषणा गरेका थिए । उनको जन्म सन् १८९० मे १९ भएको हो । सन् १९०५ मा स्कुल भर्ना भई फ्रान्सेली भाषाको अध्ययन गर्न थाले तर आर्थिक अभावले उनले औपचारिक पढाइ अघि बढाउन सकेनन् ।
बाध्यता शिक्षक भएर आय आर्जन गर्न थालेसँगै विद्यार्थीहरूलाई देशभक्ति, राष्ट्रियता, भाषा, देश, मित्र र सत्रुबारे ज्ञान दिएर आन्दोलनको बीउ रोपे । हो चिले नाम फेरे, ‘बा’ नयाँ नाम राखे र भान्छाको काम गर्न थले । त्यहाँ उनले बिहान ४ बजेदेखि बेलुकी ९ बजेसम्म काम गर्नुपर्थ्यो ।
१९१७ मा उनी बेलायत पुगे । बिहान बेलुका काम गर्ने र दिउँसो अङ्ग्रेजी भाषा सिक्न थाले । बेलायतपछि उनी फ्रान्स गए । फ्रान्समा बस्ने भियतनामी बीचमा देशभक्त सङ्गठन बनाए । फ्रान्सेली समाजवादी पार्टीको सदस्य बनेर मार्क्सवादीहरूको सम्पर्कमा पुगे । १९२३ मा फ्रान्सबाट सोभियत सङ्घ गए र अन्तर्राष्ट्रिय किसान महाधिवेशनमा भाग लिए । उक्त महाधिवेशनबाट उनी कार्यकारी समितिको सदस्यमा चुनिए ।
१९२४ मा सोभियत सङ्घ (मस्को) मा सम्पन्न कम्युनिस्ट अन्तर्राष्ट्रियको पाँचौँ महाधिवेशनमा भाग लिए साथै अन्तर्राष्ट्रिय मजदुर सङ्घ, युवक सङ्घ र महिला सङ्घको अधिवेशनमा उनले फ्रान्सेली कम्युनिस्ट पार्टीको कार्यालय प्रतिनिधिको रूपमा भाग लिए ।
मस्कोबाट हो चि मिन्ह चीन गए र पत्रिका बेच्ने हकरको काम थाले । त्यसबाट आएको पैसाले एक छाक खाएर बाँकी पैसाले चीनको शासन पद्धतिबारे अध्ययन गर्न थाले । चीनमा रहेका भियतनामीहरूलाई ‘क्रान्तिकारी भियतनामी युवा सङ्घ’ मा सङ्गठित गरे । साथै चीनको कवाङ्ग गाउँमा गोप्य विद्यालय खोले र भियतनामी युवाहरूलाई क्रान्तिकारी शिक्षा दिन थाले ।
चीनमा कोमिन्ताङ शासकले पक्राउ गर्न खोजेपछि उनी त्यहाँबाट थाइल्याण्ड गए, त्यहाँको भियतनामी गाउँमा आफ्नै भाषाको विद्यालय खोले र त्यहाँ उनले ‘भियतनामी सहयोग समिति’ नामको सङ्गठन बनाए । १९२९ सम्ममा भियतनाममा तीनवटा कम्युनिस्ट पार्टी निर्माण भएका थिए । तिनको बीचमा तीव्र विवाद थियो तर तीनवटै पार्टीहरू कम्युनिस्ट अन्तर्राष्ट्रियको सदस्य बन्ने कोसिसमा थिए । ठीक त्यहीबेला हो चिलाई कम्युनिस्ट अन्तर्राष्ट्रियको काम गर्न हङकङ पठाइयो ।
१९३० मा तीनवटै कम्युनिस्ट पार्टीलाई एकताबद्ध गरेर उनले शक्तिशाली भियतनाम कम्युनिस्ट पार्टी निर्माण गरे । हङकङबाट उनी सिङ्गापुर पुगेलगत्तै पक्राउ परे र पुनः उनलाई हङकङ फिर्ता पठाइयो । १९३३ मा उनी साङ्घाइबाट मस्को पुगे । त्यहाँ उनले लेनिन विश्वविद्यालयमा अध्ययन गर्न थाले । त्यो विश्वविद्यालयमा विश्वभरिबाट छानिएर आएका नेताहरूले दर्शनशास्त्र पढ्ने गर्थे । १९३५ मा भियतनाम कम्युनिस्ट पार्टीको प्रथम सम्मेलन चीनको मकाउमा सम्पन्न भयो ।
१९४० मा दक्षिण भियतनाममा विद्रोह सुरु भयो । भियतनाम कम्युनिस्ट पार्टीको अगुवाइमा प्रथम गुरिल्ला इकाइ गठन भयो। त्यसले १९४१ मा आफ्नो नाम ‘भियतनाम राष्ट्रिय मुक्ति दल’ राख्यो । त्यतिबेला हो चि मिन्ह भियतनाम आइसकेका थिए । आन्दोलन चर्कन थाल्यो र उनले त्यसको प्रत्यक्ष नेतृत्व गरे । आफ्ना सहायक कमान्डरद्वय भो नगुयान र फाम भान् डोङसँगै चिनियाँ कम्युनिस्ट पार्टीसँग सम्बन्ध विस्तार गर्ने उद्देश्यले दक्षिणी चीन पुगेको बेला उनी पक्राउ परे र फ्रान्सको लागि जासुसी गरेको आरोप लगाइयो । जेलमा यातना, कष्ट र भोकको कारण नराम्रोसँग थलिए ।
हो चि भियतनाम फर्किए र जनसेनाको कमान्ड समाले । विद्रोह आगोसरी फैलियो । १९४५ मा सत्ता लिने तहमा जापानी र फ्रान्सेली उपनिवेशवाद विरुद्ध सशस्त्र आक्रमण सुरु भयो । दोस्रो विश्वयुद्धमा जापानले हारेपछि विद्रोह विजय नजिक पुग्यो । १९४५ मा उत्तरी भियतनाममा गणतन्त्र स्थापना भयो र हो चि मिन्हको नेतृत्वमा अस्थायी सरकार निर्माण गरियो। मेरो १९४५ अगस्ट १९ मा हनोइ (राजधानी) माथि निर्णायक हमला गरेपछि विद्रोह पूर्ण विजयी बन्यो । २ सेप्टेम्बरमा कमसल खाकीको पाइन्ट, कमिज र टायरको चप्पल लगाएर हो चि मिन्हले मुलुक उपनिवेशबाट स्वतन्त्र भएको घोषणा गरे । उनी भियतनामको राष्ट्रपति बने । १९५१ मा होचि मिन्ह भियतनाम कम्युनिस्ट पार्टीको अध्यक्षमा निर्वाचित भए ।
१९५४ मार्च १३ देखि २७ सम्म चलेको भीषण युद्धपछि जेनेभामा वार्ता भएर प्यारलल १७ रेखा बन्यो र फ्रान्सेली सेना त्यहाँबाट फर्कियो । यसरी उत्तरी भियतनाममा कम्युनिस्ट सरकार र दक्षिणी भियतनाममा गैरकम्युनिस्ट सरकार चल्न थाल्यो । १९६९ सेप्टेम्बर २ मा हनोइ, भियतनामा उनको मृत्यु भयो । झण्डै २१ वर्षसम्म अमेरिकी साम्राज्यवादसँग लडेर १९७५ अप्रिल ३० मा भियतनामी मुक्ति सेनाले दक्षिणी भियतनामको राजधानी सैगनमाथि विजय प्राप्त गरे र त्यहाँ गणतन्त्र घोषणा भयो ।
दुई भियतनामको एकीकरणपछि उत्तर भियतनामका प्रथम राष्ट्रपतिको नाममा दक्षिण भियतनामको राजधानी सैगनको नाम फेरेर ‘हो चि मिन्ह’ सिटी राखियो, जसलाई दक्षिण भियतनामका जनताले गर्वकासाथ स्वीकारे। फ्रान्सेली, जापानी र अमेरिकी साम्राज्यवादका विरुद्ध अनवरत ३० वर्षसम्म लडेर विजयी बनेको सिङ्गो भियतनाम आज हामीले पढिरहेका छौँ।
लोकपाटीबाट
प्रतिक्रिया