एजेन्सी ।
दक्षिण भारतको केरला राज्यमा लेफ्ट डेमोक्रेटिक फ्रन्टले दोस्रो कार्यकालका लागि विजय हात पारेको छ । कोरोना महामारी नियन्त्रणका लागि मुख्यमन्त्री पिनाराई विजयनले निर्वाह गरेको भूमिकापछि जनताले दोस्रो कार्यकालका लागि उनलाई अनुमोदन गरेका हुन् । १ सय ४० सिटको निर्वाचनमा ९९ सय सिटमा एलडीएफले बाजी मारेको छ ।
यता कंग्रेस समर्थित गठबन्धन युनाइटेड डेमोक्रेटिक फ्रन्टले भने ४१ सिटमा जित हासिल गर्यो । भारतीय जनता पार्टी (भाजपा) ले भने आफ्नो अस्तित्व नै गुमाएको छ ।
केरलामा गतिशील विकास र धर्मनिरपेक्षताको पक्षमा अडिग रहँदा उनीमाथि विपक्षी दलहरूले निरन्तर आक्रमण गरेका थिए । उनी नेतृत्वको सरकारलाई सुन तस्करी गरेको, सरकारी सेवामा अनियमित तरिकाले कार्यकर्ता भर्ती गरेकोलगायतका आरोप विपक्षी दलहरूले लगाइरहेका थिए । विपक्षीले उनको खेदो खने पनि जनताले भने उनैलाई अनुमोदन गरे ।
सरकारको नेतृत्वमा दोस्रो कार्यकालमा दोहोरिँदै एलडीएफले इतिहास रच्यो । भारतको राजनीतिक इतिहासमा १ सय वर्षदेखिको आफ्नो मजबुत अस्तित्वलाई बचाउनु एलडीएफको अर्को इतिहास हो ।
केरला कसरी बन्यो कम्युनिस्टको गढ ?
केरलाको कम्युनिस्ट पार्टीले सर्वसत्तावादको नीति अंगीकार गरेन । हिंसात्मक राजनीतिभन्दा शान्तिपूर्ण चुनावी राजनीतिको नीति लियो । चुनावी राजनीतिबाट त्यस पार्टीले कहिल्यै पछि फर्किनु परेन । एलडीएफ सबैभन्दा बढी नागरिकलाई शिक्षित तुल्याउन केन्द्रित रह्यो । केरला मात्रै यस्तो राज्य हो जहाँ साक्षरतादर १०० प्रतिशत पुग्न थोरै अंक बाँकी छ ।
यस्तै, नागरिकलाई स्वास्थ्य सेवामा पहुँच पुर्याउन पनि त्यस पार्टीको भूमिका उल्लेखनीय छ । केरलाको मोडललाई साम्यवादको नयाँ अवतारका रूपमा समेत परिभाषित गरिन्छ । पुँजीवादी राष्ट्रले प्रविधिमा होस् वा स्वास्थ्य क्षेत्रमा केरलाकै दक्ष जनशक्तिलाई प्राथामिकता दिने गरेका छन् । केरलाको कम्युनिस्ट मोडको सफलताप्रति विश्वले नै प्रश्न गरिरहन्थ्यो, ‘आफ्नो सफलतालाई केरलाले कहिलेसम्म कायम राख्ला र ?’
विश्वले उठाएको प्रश्नको जवाफ कम्युनिस्ट पार्टीले हरेक निर्वाचनमा दिइरहेको छ । यो पटक पनि दिएको छ । मुख्यमन्त्री विजयनले दुई कार्यकालमा विजयी भएका नेतालाई टिकटै दिएनन् । विजयनले संकटमा राम्रो व्यवस्थापन गरेर जनताको मन जिते । उनले राज्यमा लगातार दुई वर्ष आएको बाढीपछि पनि परिस्थितिलाई सम्हाले र जनताको सहायता गरे । कोभिड आउँदा पनि उनले केरलामा हालत नियन्त्रणबाहिर जान दिएनन् ।
त्यस्तै, विजयनले प्रत्येक घरमा निःशुल्क रासन उपलब्ध गराए । उनले प्रवासी मजदुरहरूका लागि सामुदायिक भान्साको प्रबन्ध गरेका थिए । प्रवासबाट फर्किएका युवाहरूलाई उचित रोजगारीको व्यवस्था गरे । यस्तै, कोभिड खोप सबैलाई निस्शुल्क उपलब्ध गराए । वृद्धवृद्धालाई पेन्सनको राम्रो व्यवस्था पनि मिलाए। यही कारण एलडीएफले आफ्नो वर्चस्व कायम राख्न सफल भयो।
यसको जग सन् १९३९ देखि सुरु भएको हो । ब्रिटिस राज्यको दमन, जातीय व्यवस्था र सामन्तवादविरुद्ध कम्युनिस्ट आन्दोलन सुरु भएको थियो । सांगीतिक जागरणबाट सुरु भएको अभियानले बृहत् रूप लिएपछि सन् १९५२ मा यो दलले निर्वाचनमा भाग लियो र जित हासिल गर्यो । कम्युनिस्ट जागरणका निम्ति कार्ल मार्क्सको कम्युनिस्ट घोषणापत्रलाई स्थानीय भाषामा अनुवाद गरिएको थियो ।
चीन, ल्याटिन अमेरिका र पूर्वी युरोपका नेताहरूले झै उनीहरूले उद्योगमा न त कब्जा जमाए, न त व्यक्तिगत सम्पत्ति कब्जामा लिए । राजनीतिको केन्द्रमा रहेको नेसनल कंग्रेससँग चुनावमा सहभागी भए । चुनावी प्रतिस्पर्धामा कहिले कंग्रेसलाई पछारे कहिले आफूले हार व्यहोरे । विस्तारै केरलाका लागि कम्युनिज्म पहिचान बन्न थाल्यो । १९७० र ८० को दशकसम्म त बच्चाहरूको नाम नै लेनिन र स्टालिन हुनु सामान्य भइसकेको थियो । केरला कम्युनिस्टको प्राथमिकतामा श्रमिक परे । पूर्वाधार निर्माणमा कार्यरत श्रमिलाई राज्यले नै १० वर्षसम्म तलब दिने व्यवस्था गर्यो । गल्फ राष्ट्रमा श्रमका लागि पुग्ने युवाहरूको रेमिट्यान्सबाट श्रमिकहरूलाई सरकारले निश्चित अवधिसम्म पालिरह्यो । केरला सबैभन्दा बढी व्यापारघाटा व्यहोर्ने राज्यमा निकै समयसम्म रह्यो ।
घाटामै रहेर पनि केरलाले नयाँ राजमार्ग बनाउने औद्योगिक पार्क बनाउने नीति लियो । केरला यसमा सफल पनि देखियो । अहिले त्यहाँ चारवटा अन्तर्राष्ट्रिय विमानस्थल छन् । एसियाकै सबैभन्दा ठूलो अन्तर्राष्ट्रिय विमानस्थल पनि त्यही बन्दै छ । सन् १९८० देखि ९० को दशकमा केरलाबाट अदक्ष कामदारहरू खाडी मुलुकमा जाने गर्थे । अहिले त्यहाँ लेखापाल, वकिल, नर्स, डाक्टर तथा अन्य दक्ष कामदारका रूपमा पुग्ने गरेका छन् । केरलाको कुल गार्हस्थ्य उत्पादनमध्ये रेमिट्यान्स तेस्रो नम्बरमा पर्छ ।
पूर्वाधार निर्माण, स्वास्थ्यमा पहुँच र शिक्षाको दृष्टिले केरला सबैभन्दा अब्बल छ । त्यसैले कम्युनिस्ट पार्टीप्रति नागरिकको विश्वास अझै कायम छ । ‘राज्यले आधारभूत सुविधा उपलब्ध गराएको अवस्थामा मानिसहरू सधैँभर नाफाकेन्द्रित भइरहने छैनन् । नागरिकलाई सम्पन्न बनाउन राज्यले नै लगानी गर्ने केरला मोडल लागू हुने हो भने पुँजीवादको पतन निश्चित छ,’ प्राध्यापक एच। एन हरीलाल भन्छन् ।
केरला कम्युनिस्टको गढ बन्नुको पछि उसले नागरिकका आवश्यकता पूर्ति गर्न सहयोग गर्नु हो । केरलाका युवाहरू राज्यले सबैलाई समान अधिकार दिएको प्रति कृतज्ञ छन्। ‘राज्यले हामीलाई सबै वर्गका मानिसहरू समान हुन् र सबैलाई समान अवसरको सुनिश्चित छ भन्ने आभाष दिलाएको छ,’ २० वर्षीय युवा सिघिन प्रदिशले भने ।
केरलामा शिक्षा सुलभ छ भने साक्षरतादर १०० प्रतिशत नजिक छ । केरलामा शिक्षा सुलभ छ भने साक्षरतादर १०० प्रतिशतनजिक छ । भारतको अन्य राज्यमाझैँ यहाँ हिन्दूत्वको राष्ट्रवाद प्रवेश गरिसकेको छैन । यहाँ धर्म निरपेक्षतालाई नै प्राथमिकता दिइन्छ । ‘हामी इसाई, मुस्लिम वा हिन्दू कोही पनि होइनौँ । रोग भोक र शोक सबैका लागि समान छन् । त्यसैले हामी मानव हौँ,’ केटाकेटीहरू यही गीत मस्तसँग गाइरहेका थिए ।
केरलाले समानताको शिक्षा दिइरहेको छ । सबैलाई समान अवसरका लागि राज्यले नै लगानी गरिरहेको छ । पूर्वाधार विकास, शिक्षामा सरल पहुँच र नागरिकलाई सुलभ स्वास्थ्य सेवा उपलब्ध गराउन एलडीएफ सधैँ अग्रसर छ । सय वर्षअघिको आफ्नो जगलाई भत्किन नदिन पार्टी क्रियाशील छ ।
समग्रमा इतिहासबाट पाठ सिक्दै नागरिकसँगको सहकार्यमा वर्तमान गतिशील बनाउँदै राज्य र नागरिकको सुन्दर भविष्य निर्माणका निम्ति कम्युनिस्ट पार्टी सक्रिय छ । त्यसैले केरलामा कम्युनिस्टले राज गरिरहेको छ ।
(एजेन्सीहरूको सहयोगमा)
प्रतिक्रिया