८ मंसिर २०८१, शनिबार | Sat Nov 23 2024

अध्ययनको निष्कर्षः कोरोना खोपको एउटै डोजले पनि सङ्क्रमण दरलाई आधासम्म घटाउँछ



काठमाडौं ।
कोरोना भाइरसविरुद्धको खोपको एउटै डोजले पनि सङ्क्रमण दरलाई आधासम्म घटाउन सक्ने अध्ययनले देखाएको छ ।

फाइजर वा एस्ट्राजेनेका खोपको पहिलो मात्रा दिइएका र त्यसको तीन हप्तापछि सङ्क्रमित भएका व्यक्तिले खोप नलगाएका व्यक्तिलाई भाइरस सार्ने सम्भावना ३८ देखि ४९ प्रतिशतसम्म कम रहने पब्लिक हेल्थ इङ्ग्ल्याण्ड पीएचईले जनाएको छ ।

खोप लगाएको लगभग १४ दिनपछि त्यसले दिने सुरक्षामाथि गरिएको अध्ययनले यस्तो निष्कर्ष निकालेको बीबीसीले जनाएको छ । पीएचईका अनुसार दुईमध्ये कुनै एक खोप लगाएको व्यक्तिलाई पहिलो मात्रा खोप लिएको चार हप्तापछि लक्षणसहित सङ्क्रमण देखिने जोखिम ६० देखि ६५ प्रतिशतले कम देखिएको छ ।

खोप हाम्रो जीवनलाई साधारण अवस्थामा फर्काउन मद्दत गर्न रहेको भन्दै पीएचईकी खोप प्रमुख डाक्टर मेरी रामसेले खोपले रोगको गम्भीर असर कम गर्ने मात्रै नभई धेरै सङ्क्रमितको ज्यान जोगाउनसमेत सहयोग गर्छ ।

प्रमाणहरूले खोप लगाएकाहरु सङ्क्रमित भइहाले पनि उनीहरुले अरूलाई भाइरस सर्ने जोखिम केही कम हुने देखाएको अनुसन्धानकर्ताले बताएका छन् ।

प्रकाशित मिति : १६ बैशाख २०७८ बिहिबार ००:००  १ : २० बजे