मायादेवी अनलाइन, चारनम्बर ।
कोरोना संक्रमणको उच्च जोखिमका कारण विद्यालय बन्द भएको अवस्थामा बाणगंगाका सरकारी विद्यालयका एक प्रधानाध्यापकलाई प्रहरीले नियन्त्रण गरी कागज गरेर छोडेको छ ।
नगरपालिकाको वडा नम्बर २ मा रहेको पंच आधारभूत विद्यालयका प्रधानाध्यापक जगत् प्रसाद रेग्मीलाई प्रहरीले विहीबार विहान पक्राऊ गरेको इलाका प्रहरी कार्यालय पिपराका प्रहरी निरिक्षक दिनेश गुरुङले जानकारी दिनुभयो । उहाँका अनुसार विद्यालय पुग्दा खोलेको अवस्थामा १५÷२० जना विद्यार्थी पनि भटिएका थिए । पछि जाँचबुझ गर्दा परिक्षाका लागि विद्यार्थीलाई बोलाइएको पाइएको उहाँको भनाई छ ।
कोरोनाको उच्च जोखिम रहेको कारण संक्रमण बढ्न सक्ने भन्दै सरकारले अहिले देशभरका विद्यालय बन्द गरेको छ । यस्तो अवस्थामा पनि अटेर गरी विद्यालय संचालन गरी परीक्षा लिएको पाइएपछि नियन्त्रणमा लिई अब विद्यालय नचलाउने कागज गरी छोडिएको गुरुङले बताउनु भयो ।
उता प्रधानाध्यपक रेग्मीले भने परीक्षा नचलाएको तर त्यस विषयमा विद्यार्थीसंग विद्यालयमा छलफल भएको दाबी गर्नुभएको छ । उहाँले आफूले विद्यालय नखोलेको दाबी गर्नुभयो । बाणगंगाका केही विद्यालयले आउट ड्रेसमा समेत बोलाएर विद्यालय संचालन गरिहेको एक शिक्षकले बताए ।
ती विद्यालयमा पनि अनुगमन हु्ने र त्यस्तो पाइए नियन्त्रणमा लिई कारबाही गरिने प्रहरीले जनाएको छ । कोरोनाको यस्तो महामारीमा सरकारको नियम उलंघन गरेको पाइए ६ महिनासम्मको कैद र ६ सय रुपैयाँ जरिवानाको ब्यवस्था छ ।
प्रतिक्रिया