मायादेवी अनलाइन, चार नम्बर ।
कोरोना नियन्त्रणको लागि सबैभन्दा पहिले जनतामा चेतनाको स्तरमा वृद्धि हुनुपर्नेमा कपिलवस्तु जिल्लाका प्रहरी प्रमुख प्रहरी उपरिक्षक (एसपी) नवराज अधिकारीले जोड दिनु भएको छ ।
कोरोना नियन्त्रण गर्न प्रहरी प्रशासन आफ्नो तर्फबाट पूर्ण रुपमा लागेको भए पनि जनतामा चेतनास्तर कमजोर हुँदा कोरोनाको दोश्रो लहर नियन्त्रणभन्दा बाहिर जाने स्थितिमा रहेको अधिकारीले बताउनु भएको हो ।
कोरोना नियन्त्रणको लागि कपिलवस्तु प्रहरीले के के गरिरहेको छ ? भन्ने मायादेवी अनलाइनको प्रश्नमा उहाँले सामाजिक दुरी कायम गर्न, बाहिर हिंड्दा अनिवार्य मास्क लगाउन, साबुन पानी या सेनेटाइजर प्रयोग गर्न पटक-पटक भनिए पनि जनताले जर्वजस्त लादिएको रुपमा बुझ्दा समस्या भएको बताउनु भयो ।
समाजमा मास्क लगाउने प्रचलन र प्रहरीको अगाडी मात्र लगाउने संस्कारमाथि पनि उहाँले प्रश्न उठाउनु भएको छ । मानिसहरु प्रहरीलाई देखेपछि मात्र मास्क लगाउँछन्, प्रहरीले कडा गरिदिएन, नगरपालिका, गाउँपालिकाले केही गरेनन् भन्नेजस्ता प्रति प्रश्न गरेर नागरिक गैरजिम्मेवार रुपमा प्रस्तुत भएको भन्दै उहाँले प्रहरीलाई देखेपछि मास्क लगाउने हो र ? भनि प्रश्न गर्नुभयो ।
उहाँले भन्नुभयो– सामाजिक दुरी प्रहरीको लागि हो ? कोरोना कसलाई लाग्छ ? बन्दाबन्दी कसको लागि ? ‘यसरी कोरोना नियन्त्रण हुँदैन । स्वयम नागरिकलाई जिम्मेवार बन्नुपर्दछ । प्रहरी गल्लीगल्ली पनि पुग्न सक्दैन । सबैले मिलेर मात्र कोरोनाविरुद्धको लडाइमा जित हासिल गर्न सकिन्छ ।’
जनतामा चेतनाको कमी भएकै कारण प्रहरीले तपाईको मास्क खोइ अभियान सुरु गरेको पनि उहाँले बताउनु भयो । वायुमामा पनि कोरोनाका भाइरसहरु सक्रिय छन् त्यसैले मास्क अनिवार्य छ, उहाँको भनाई छ । उहाँले भारतबाट आउनेहरुमाथि कडा ढंगबाट चेकजाँच भइरहेको बताउँदै नियम उलंघन गर्नेविरुद्ध कडा ढंगबाट प्रस्तु्त हुने पनि उहाँले चेतावनी दिनुभयो ।
समुदायस्तरमा पनि कोरोनको दोश्रो संक्रमण फैलिएकाले जिल्लामा फेरि लकडाउन हुन सक्नेतर्फ उहाँले सबैलाई सचेत गराउनु भयो । कोरोना महामारी नियन्त्रण गर्न स्थानीय सरकार, उद्योग बाणिज्य संघ, सामाजिक संघ संस्था, पत्रकार सबै उत्तरदायी भएर लाग्नु पर्ने पनि उहाँले बताउनु भयो ।
प्रतिक्रिया