८ मंसिर २०८१, शनिबार | Sun Nov 24 2024

लुम्बिनीमा मन्त्री बनेका ४ सांसदलाई कारबाही गर्ने जसपाको निर्णय



काठमाडौं ।
लुम्बिनी सरकारमा मन्त्री बनेका चार जना सांसदलाई कारबाही गर्ने जनता समाजवादी पार्टी ९जसपा०ले निर्णय गरेको छ । मंगलबार बसेको जसपा पदाधिकारीको बैठकले लुम्बिनी प्रदेश सभाका चार सदस्यलाई कारबाही गर्ने निर्णय गरेको हो । लुम्बिनीका मुख्यमन्त्री शंकर पोखरेलविरुद्ध नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र) र जसपाले ६ वैशाख दिउँसो अविश्वास प्रस्ताव दर्ता गरेका थिए ।

त्यही साँझ मुख्यमन्त्री पोखरेलले जसपाका चार जना सांसदलाई मन्त्री नियुक्त गरेका थिए । जसपाका सन्तोषकुमार पाण्डे भौतिक पूर्वाधार विकासमन्त्री, विजयबहादुर यादव भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री, कल्पना पाण्डे शिक्षा तथा सामाजिक विकासमन्त्री र सुमन शर्मा रायमाझी भौतिक पूर्वाधार विकास राज्यमन्त्री नियुक्त भएका थिए। पाण्डे, यादव र रायमाझीले अविश्वासको प्रस्तावमा समेत हस्ताक्षर गरेका थिए ।

उनीहरूलाई मन्त्रीबाट राजीनामा दिन जसपा प्रदेश समितिले निर्देशन दिँदै स्पष्टीकरण सोधेको थियो । उनीहरूले राजीनामा नदिएपछि कारबाहीका लागि केन्द्रमा सिफारिश गरेको थियो ।

प्रदेश समितिको सिफारिशका आधारमा बुधबार जसपा पदाधिकारी बैठकले चारै जनाको सांसद पद खारेज गर्ने निर्णय गरेको हो । त्यसका लागि अब प्रदेशका सभामुखलाई सिफारिश गरिने भएको छ । –हिमालखबरबाट

प्रकाशित मिति : १५ बैशाख २०७८ बुधबार ००:००  ६ : ५० बजे