चन्द्रकान्त न्यौपाने, चारनम्बर ।
०७७ वैशाख १३ गते सोमबार विहान यस्तै ९ बजेको समय थियो । पाल्पाको तिनाउ गाउँपालिकामा पर्ने सिद्धबाबा मन्दिरको माथिपट्टी एक जना साधु गुलेली लिएर बसेका थिए । अन्दाजी ६० बर्षका ती साधु हरेक दिन विहान तिनाउ नदीतिर फर्किएर गुलेली लिएर बस्दा रहेछन् । त्यो दिन पनि उनले मन्दिरनेर बसेर गुलेली तन्काइरहेका थिए । यस्तो दृश्य देखेपछि सोही दिन सिद्धबाबाको दर्शन गर्न भनी कपिलवस्तुको बाणगंगा नगरपालिका वडा नम्बर ४ बाट गएका समाजसेवी कमल आचार्य र शंकर पाण्डेलाई अलि आश्चर्य लागेछ ।
सोमबार भएकाले त्यहाँ कतिले परेवा उडाइरहेका थिए । कतिले बिभिन्न खाले वर मागिरहेका थिए । तर साधु भने परेवाको सिकार बस्न बसेजसरी बसेका । हुन पनि मन्दिरमा सिकार गर्न कसले अनुमति पाउँछ र ? माथिल्लो सिद्धबाबाको फेँदीबाट करिब ३० मिटर माथि पुगेपछि उहाँहरुले त्यही साधुसंग एकछिन कुराकानी गर्नुभयो ।
ती साधुले कमल आचार्यसंग भनेछन् ‘गुलेली देखे भने बाँदरहरु भाग्छन् भनेर गुलेली लिएर बसेको । अनि अचार्यले सोध्नुभयो ‘किन बाँदरहरु भगाउने । के विगार गर्छन् बाँदरले यहाँ ? साधुले भनेछन् ‘यति नगर्ने हो भने त ती बाँदरहरुले यी सबै परेवाहरु खाएर सक्छन् । यति गरिनँ भने त ती सबै परेवाहरु बाँदरले खाएर सक्छन् । त्यै भएर गुलेली देखाएर बाँदर लखेट्ने काम गर्छ । गुलेली देखे भने ती बाँदर आउँदैनन् र परेवा मर्न पाउँदैनन् ।’त्यसपछि आचार्य र पाण्डे दम्पति झन् छक्क पर्नुभयो । उहाँका श्रीमतीहरु शान्ता मरासिनी आचार्य र ईश्वरी पाण्डेलाई पनि यो कुरा निकै अनौठो र नौलो लाग्यो ।
उहाँहरुले अहिलेसम्म बाँदरले अन्नबाली त खाने गरेको तर मासु, कखुुरा, परेवा खाने गरेको थाहा पाउनु भएको थिएन । त्यत्तिकैमा आचार्यले साधुलाई सोध्नुभयो ‘बाँदरले अहिले पनि परेवा खाइरहेका छन् ? हामीले देख्न पाउँछौँ ? साधुले भने–‘ऊ पर हेर्नुस् त बाँदरले परेवा च्यातचुत पारेर लुछिरहेको छ । आचार्य र शंकर पाण्डेले बाँदरतर्फ घाँटी के तान्नुभएको थियो “मन्दिरको गजुरमुनी छानामा चार पाँचवटा बाँदर बसेका । एउटाले परेवा च्यात्थ्यो । अरु बाँदर आएर लुक्दै परेवा खाँदै गरिरहेका थिए । कसैले पखेटा त्यातेका थिए त कतिले खुट्टापेटतिरबाट लुछ्दै गरेको दृश्य प्रष्टसंग देखियो ।”
उहाँले मायादेवी अनलाइनसंग फोटो सेयर गर्दै भन्नुभयो ‘बाँदरले मासु खाएको कहिल्यै देखेको सुनेको थिएन नै यसरी मन्दिरका परेवा खाएको त पहिलो पटक देखेँ । बाँदर शाकाहारी भन्नु सुनेको म भ्रममा परेको रहेछु । अचम्म लागिरहेको छ ।यी हुर्नुहोस् त फोटाहरु ।’ फोटाहरु भने टाढाबाट जुम गरेर खिचेको हुनाले त्यति प्रष्टिन्नन् । त्यो देखेर शंकर पाण्डे पनि आश्चर्यचकित पर्नुभएको रहेछ । उहाँ र उहाँकी श्रीमतीहरु त भावुक नै हुनुभएछ । म्याडमहरुको आँखाबाट आसु नै झरेको पाण्डेले मायादेवीसंग सुनाउनु भयो ।
त्यसपछि कमलले साधुलाई सोध्नु भएछ ‘आज मात्रै हो कि अरु दिन पनि बाँदरले परेवा खान्छ ? अनि साधुले भनेछन् ‘अहिलेसम्म हजारौँ परेवाहरु खाइसके । यहाँ भक्तजनले बिभिन्न वर मागी सिद्धबाबालाई उडाउनु हुन्छ । तर त्यसरी खान दिन त भएन नि भनेर म दिनहुँ यहाँ गुलेली लिएर बस्छु ।’ बाँदरमा आएको यस्तो परिवर्तन देखेर उहाँहरु साँच्चिकै आश्चर्यमा पर्नुभयो । अनि पाण्डेले सोध्नुभएछ साधुलाई यो कुरा अरुलाई थाहा छैन ? साधुले भनेछन् ‘खै कुन्नि तर मैले यो धेरैपटक देखेको छु ।’ करिब पौने घण्टा उहाँहरु त्यहाँ पुजा आजा गरेर फर्कनु भयो ।त्यसपछि यो घटना अध्ययनको विषय बनेको छ । मायादेवीमा यो कुरा आइसकेपछि हामीले बुझ्दा धेरैले यसलाई अनौठो घटना भनेका छन् । धेरैले बाँदरले अहिलेसम्म मासु खाने गरेको थाहा नपाएको बताए ।
बाँदर मांसाहारी हो कि शाकाहारी ? यो घटना सिद्धबाबामा भएको एउटा घटना हो कि स्वभाविक हो भन्नेबारे बुझ्ने हामीले धेरै विज्ञहरुलाई सम्पर्क गर्ने क्रममा मंगलबार नेपाल भेटनेरी काउन्सिलका वर्तमान रजिष्ट्रार तथा जीव पशुपंक्षी विज्ञ डा नारायण प्रसाद घिमिरेसंग घटनाबारे बेलिविस्तार सुनायौँ । त्यसपछि उहाँले पनि यो घटनालाई अनौठो मान्नु भएको छ । उहाँले यस्ता घटना विरलै देख्न सुन्न पाइने र बाँदरले यसरी परेवा लुछेर खाइरहेको घटना पहिलो पटक सुनेको मायादेवीसंग प्रतिक्रिया दिनुभयो ।
‘बाँदर शाकाहारी जंगली जनावर हो । यो एचष्mबतभ न्चयगउ मा पर्दछ । यसमा मानिस जातिका साथै चिम्पान्जी, लङ्गुर आदि पर्दछन् । यो भनेको मानिसमा हुने गुण यिनमा पनि हुन्छन् भन्नु हो । बाँदरले मासु खाँदै नखाने भन्ने होइन । तर यसरी बाँदरले मासु र पंक्षी खाएको घटना पहिलोपटक सुन्दैछु । उहाँले भन्नुभयो ।’
उहाँले थप्नु भयो ‘आफू यसको धेरै विशेषज्ञ नभए पनि वातावरणमा अनुकुलन हुनको लागि बाँदरहरुले आफूलाई परिवर्तन गराएको हुनुपर्दछ । छेपारोले रङ फेरेजस्तै उनीहरुले वातावरणमा उडजस्ट गर्न यसो गरेको हुनुपर्दछ । यो त्यहाँका बाँदरमा आएको परिवर्तन हो । अब सिद्धबाबाको बाँदरको अवस्था अध्ययनको विषय भयो । वैज्ञानिकले त्यहाँ अध्धयन गर्नुपर्दछ ।’ उहाँले यस विषयको बारेमा सम्बन्धित निकायसम्म कुरो पुर्याउने बताउँदै बुटवल र पाल्पाको वातावरणमा बाँदरहरु किन यस्तो अवस्थामा आए ? किन बाँदरमा यस्तो अनौठो भयो ? त्यहाँको वातावरण र बायुमण्डल अब वैज्ञानिकको लागि खोजकै विषय भएको दोहोर्याउनु भयो ।
जानकारहरुका अनुसार बाँदर जन्मजात शाकाहारी नै हुन्छ । कतिपयले त सिद्धबाबाको यो घटना विश्वमा नै नौलो भएको बताए । अरुले पनि बाँदरहरु अब पृथ्वीमा बाँच्नको लागि संघर्ष गर्ने क्रममा यस्तो स्थितिसम्म आइपुगेकोे बताउँछन् । धेरैले यो सिद्धबाबाको घटना वैत्रानिकको लागि खाजकै विषय भएको बताए ।
प्रतिक्रिया