८ मंसिर २०८१, शनिबार | Sun Nov 24 2024

नेपाल–खनाल समूहद्वारा काठमाडौं जिल्ला कमिटी घोषणा



काठमाडौं ।
नेकपा एमालेबाट निलम्बित माधव नेपाल र झलनाथ खनाल समूहले काठमाण्डौमा समानान्तर जिल्ला कमिटी गठन गरेको छ । दुवै नेताको उपस्थितिमा नेपाल–खनाल समूहले वसन्त मानन्धरको नेतृत्वमा जिल्ला कमिटी घोषणा गरेको हो ।

मानन्धर प्रदेश सभा सदस्य हुनुहुन्छ । यस्तै उपाध्यक्षमा शोभा सापकोटा, सचिवमा कुसुमकुमारी कार्की र उपसचिवमा लक्ष्मीप्रसाद श्रेष्ठ रहेका छन् ।

अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टी र नेतृत्वविरुद्ध लागेको भन्दै माधवकुमार नेपाल, भीम रावल, सुरेन्द्र पाण्डे र घनश्याम भुसाललाई ६ महिनाका लागि पार्टीबाट निलम्बन गरे पनि नेपाल–खनाल समूहले स्थायी कमिटीको भेलाबाटै समानान्तर कमिटी र सङ्गठन बनाउने घोषणा गरिसकेको छ ।

आइतवारको कार्यक्रममा नेता नेपालले पार्टी अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीलाई पार्टीभित्रको मतभदेको बारेमा छलफलमा आउन आग्रह गर्नुभएको छ ।

पार्टीभित्र आन्तरिक विवाद चर्किँदै जाँदा नेता नेपालले अध्यक्ष तथा प्रधानमन्त्री ओलीलाई विवाद समाधानका निम्ति छलफलमा आउन सार्वजनिक रूपमा आग्रह गर्नुभएको छ । समस्याको समाधान बैठकबाट खोज्नुपर्ने उहाँले बताउनुभयो । आफू अनुकूल नहुँदा बैठक नै नराख्ने प्रवृत्ति ओलीसँग रहेको भन्दै ओलीलाई सुधार्न नसकेको उहाँको भनाइ छ ।

उहाँले भन्नुभयो, ‘कुनै कुरामा मतभेद छ भने आउनुहोस्, बसेर बहस गरौँ, छलफल गरौँ तर छलफल गर्न बहस गर्न त पार्टी चाहियो । बैठकमा त बस्नुपर्‍यो । कुनै समस्याको समाधान खोज्नु छ भने बस्नु त पर्‍यो, बस्नका लागि सङ्गठन चाहियो, सङ्गठनको बैठक चाहियो, बैठकमा उपस्थित हुनुपर्‍यो ।’

कार्यक्रममा नेता नेपालले प्रधानमन्त्री केपी शर्मा ओलीले बालुवाटारमा बसेर कुनै तयारी नै नभएका र बजेटको सुनिश्चितता नै नभएको आयोजनाको शिलान्यास गरेर तमासा गरेको पनि आरोप लगाउनुभएको छ ।

शनिवार प्रधानमन्त्री ओलीले एक सय ६५ वटा सडकको शुभारम्भ गरेको प्रसङ्गमा नेता नेपालले बालुवाटारमा बसेर ओलीले तमासा देखाइरहेको तर काम भने नगरेको नागरिकले बुझेको बताउनुभयो । ओली गुटमा रमाउने नेता भएको र आलोचना गर्नेलाई दुस्मन देख्ने बानीले उहाँ एक्लिँदै गएको पनि नेता नेपालको जिकिर छ ।

प्रकाशित मिति : २३ चैत्र २०७७ सोमबार ००:००  ७ : २४ बजे