८ मंसिर २०८१, शनिबार | Sun Nov 24 2024

कपिलवस्तुबाट प्रचण्डले भने ‘आजैबाट नयाँ सरकार गठनको अध्याय सुरु भयो’



कपिलवस्तु । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ’प्रचण्ड’ले आजैबाट नयाँ सरकार गठनबारे घनिभूत रूपमा छलफल गर्ने बताएका छन् ।

शनिबार माओवादी केन्द्रको कपिलवस्तु जिल्लास्तरीय प्रशिक्षण तथा पार्टी प्रवेश कार्यक्रमलाई तौलिहवामा सम्बोधन गर्दै उनले आजै ४ बजेबाट काठमाडौंमा नयाँ सरकार गठनबारेका बैठकहरू घनिभूतरूपले अगाडि बढाउने बताएका हुन् ।

’साढे ३ बजे फर्केर ४ बजेबाट काठमाडौंमा नयाँ सरकार गठनबारेका बैठक घनिभूत रूपले अगाडि बढाउने छु । देशको राजनीतिले पनि कोल्टे फेरेको छ । म तपाईंहरू सबैलाई बधाई भन्न चाहन्छु । सम्भवतः छिट्टै नयाँ सरकार बन्ने छ, नयाँ परिस्थिति बन्ने छ ।’

हिजो र आजसम्ममा काठमाडौंको राजनीतिक घटना क्रम फेरिएको पनि उनले बताए । शुक्रबारको नेपाली कांग्रेसको निर्णयले देशको राजनीतिक परिस्थितिले कोल्टे फेरेको उनले बताए । ’खास गरी नेपाली कांग्रेसले प्रधानमन्त्री केपी ओलीको तत्काल राजीनामा माग गरेपछि र अर्को सरकार गठन गर्ने निर्णय लिएपछि देशको राजनीतिक परिस्थितिले कोल्टे फेरेको छ,’ उनले भने ।

प्रकाशित मिति : २१ चैत्र २०७७ शनिबार ००:००  ४ : १३ बजे