चितवन ।
एक सिंगे गैंडाको गणनाका लागि चितवन राष्ट्रिय निकुञ्जमा खटिएको टोलीमाथि जंगली हात्ती ध्रुबेुले आक्रमण गरेको छ। आक्रमणमा राष्ट्रिय प्रकृति संरक्षण कोषका संरक्षण अधिकृत विनोद श्रेष्ठ गम्भीर घाइते भएका छन्। उनलाई उपचारका लागि साँझ ५ बजेतिर हेलिकप्टरबाट काठमाडौं पठाइएको निकुञ्जका प्रमुख संरक्षण अधिकृत अणनाथ बरालले जानकारी दिए।
बरालकाअनुसार गैंडाको गणनाका लागि शुक्रबार निकुञ्जको टोली पश्चिम सेक्टरको गैंडाखासा भन्ने ठाउँमा पुगेको थियो।‘जंगली हात्तीले टोलीलाई लखेट्न थालेछ, भागाभाग हुँदा पाँच जना कर्मचारी घाइते भएका छन्,’ बरालले भने।
उनकाअनुसार चार जनालाई सामान्य चोट लागेको छ। गम्भीर घाइते श्रेष्ठलाई नवलपुरको कावासोतीमा प्रारम्भिक उपचारपछि थप उपचारका लागि हेलिकप्टरबाट काठमाडौं पठाइएको बरालले बताए। उनको अहिले काठमाडौंको ह्याम्स अस्पतालमा उपचार भइरहेको बताइएको छ।ध्रुबे नामको जंगली हात्तीले वि।सं। २०६६, ६७, ६८ र ६९ सालमा गरी १३ जनाको ज्यान लिएको थियो। धेरैको ज्यान लिएपछि यसलाई मार्न सरकार नै लागिपरेको थियो।
पछिल्लो समयमा यस्ता गतिविधि नगरेको यो हात्तीले शुक्रबार पुनः मान्छेमाथि आक्रमण गरेको हो।उक्त घटनासँगै चितवन निकुञ्जमा जारी रहेको गैंडा गणना कार्य तत्कालका लागि स्थगित गरिएको छ।
‘कहिलेबाट सुरू गर्ने भन्ने विषयमा हामी छलफल गरेर निर्णय गर्छौं,’ बरालले भने। चितवन राष्ट्रिय निकुञ्जमा चैत ९ गतेबाट एक सिंगे गैंडाको गणना सुरू गरिएको थियो। हाल बर्दिया निकुञ्ज र शुक्लाफाँटा निकुञ्जमा पनि गणना चलिरहेको छ। गैंडा गन्नका लागि गणकहरूले हात्तीकै प्रयोग गर्ने गर्दछन्।
प्रतिक्रिया