८ मंसिर २०८१, शनिबार | Sat Nov 23 2024

नेपाल समूहको स्थायी कमिटी बैठक बस्दै



काठमाडौं ।
नेकपा एमालेका नेता माधवकुमार नेपाल समूहले स्थायी कमिटी सदस्यहरुको बैठक बोलाएको छ ।

अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले उपमहासचिव घनश्याम भुसाल र स्थायी कमिटी सदस्य सुरेन्द्र पाण्डेलाई पनि ६ महिना निलम्बन गरेपछि नेता नेपालले आप्नो पक्षमा स्थायी कमिटी सदस्यहरुको बैठक बोलाएका हुन् ।

आज विहान एघार बजे बस्ने बैठकले पार्टी पुनर्गठन अभियान घोषणा गर्ने एक नेताले बताए । २ जेठ २०७५ को पार्टी कमिटीहरु कायमै रहनुपर्ने माग गर्दै आएको नेपाल समूहले पछिल्ला दिनमा समानान्तर कमिटी निर्माणलाई नै पार्टी पुनर्गठन भन्दै आएको छ । बिहीबार मात्र माधव नेपाल र सुरेन्द्र पाण्डे पोखरा पुगेर गण्डकी प्रदेशस्तरीय समानान्तर कमिटी घोषणा गरेका छन् ।

प्रदेश सचिवालय देखि जिल्ला इन्चार्ज, अध्यक्ष र सचिव घोषणा गरेको यो समूहले अब अभियानकै घोषणा गर्ने भएको छ । यो समूहले गण्डकी बाहेक भोजपुर, खोटाङ, अर्घाखाँची लगायत जिल्लामा छुट्टै कमिटी घोषणा गरिसकेको छ ।

अखिल नेपाल महिला संघ, युवा संघ नेपाल र अनेरास्ववियुमा पनि समानान्तर कमिटी घोषणा गरेको छ । तर, कमिटी निर्माणलाई तीव्रता दिनुका साथै राजनीतिक प्रतिवेदन पनि लिएर जाने नेतारुको तयारी छ ।

प्रकाशित मिति : २० चैत्र २०७७ शुक्रबार ००:००  ७ : ५९ बजे