८ मंसिर २०८१, शनिबार | Sat Nov 23 2024

बर्दियामा गैँडा गणना सुरु



बर्दिया ।
बर्दिया राष्ट्रिय निकुञ्जमा गैँडा गणना सुरु भएको छ । बर्दिया राष्ट्रिय निकुञ्जले बुधवार एक कार्यक्रमका बीच गैँडा गणना सुरु गरेको बर्दिया निकुञ्जका प्रमुख संरक्षण अधिकृत विष्णुप्रसाद श्रेष्ठले जानकारी दिनुभयो ।

बुधवार १८ गतेदेखि सुरु भएको गैँडा गणना १४ दिनसम्म चल्ने छ । गैँडा गणनाका लागि बर्दिया निकुञ्जका नौ र राष्ट्रिय प्रकृति संरक्षण कोष (एनटीएनसी) को एक गरी १० वटा हात्तीको प्रयोग गरिएको छ ।

त्यसैगरी हात्तीसारका ३० जना, १० जना मुख्य गणक र १० जना सहायक गणक गरी ५० जना परिचालित भएका छन् । निकुञ्ज र एनटीएनसीका प्राविधिक टोलीसहितको गैँडा गणक खटिएका छन् ।

बर्दिया राष्ट्रिय निकुञ्जको गैँडा पाइने कर्णाली नदी तटीय क्षेत्र र बबई नदी तटीय क्षेत्र एवम् आसपासका मध्यवर्ती सामुदायिक वन क्षेत्रमा गैँडा गणना गरिनेछ ।

गैँडा गणना कार्यमा गैँडासँगै गैँडाको बासस्थान एवम् अन्य वन्यजन्तुको अवस्थाबारे पनि जानकारी लिइनेछ । गणकहरूले गैँडा गणना गर्नका लागि जीपीएस, क्यामेरा, दुरबिनको प्रयोग गरेका छन् ।

सन् २०१५ मा गरिएको गणनाबाट बर्दिया निकुञ्जमा २९ वटा गैँडा रहेका थिए । निकुञ्जले गरेको आन्तरिक गैँडा अनुगमनका क्रममा ३६ वटा गैँडा रहेको जनाए पनि यसपटकको गणनाबाट बर्दियामा गैँडाको सङ्ख्या बढ्न सक्ने निकुञ्जले अनुमान गरेको छ । सरदर चारदेखि पाँच वर्ष अन्तरालमा देशभरि गैँडा गणना गर्ने गरिन्छ ।

प्रकाशित मिति : १९ चैत्र २०७७ बिहिबार ००:००  ७ : ५५ बजे