दीपा महत, जितपुर ।
कपिलवस्तुमा हात्तीपाइले रोग निवारणका लागि एक दशक लामो प्रयास तथा अभियान संचालन भएको छ । तर जिल्लामा हात्तीपाइले रोगको निवारण भने हुन सकेको छैन् । हात्तीपाइले रोग निर्मूल नभएपछि कपिलवस्तुमा यस वर्ष १३ औं चरणको औषधि खुवाइँदैछ । सरकारले वि.सं. २०६४ देखि कपिलवस्तुमा हात्तीपाइले रोग विरुद्धको औषधि खुवाउँदै आएको छ ।
यस वर्ष चैत्र २० गतेदेखि १३ औं चरणको औषधि सेवन अभियान शुरू गर्न लागिएको जिल्ला स्वास्थ्य कार्यालय कपिलवस्तुका प्रमुख देवराज पाण्डेले जानकारी दिनुभयो । अहिले कपिलवस्तुका १० वटै पालिकामा हात्तीपाइले रोग विरुद्धको औषधि सेवनका लागि तयारी गर्न पालिका स्तरीय छलफल तथा भेलाहरू सञ्चालन भैरहेको उहाले बताउनुभयो ।
देशभर कपिलवस्तुमा मात्र १३ औ चरणको औषधी खुवाउने कार्यक्रम गर्न लागिएको भन्दै यस पटक हात्ती पाइले बिरुद्धको औषधी ढुक्क भएर सेवन गर्न हरनामपुर प्राथमिक स्वास्थ्य केन्द्रका मेडिकल अफिसर गंगाराम यादवले आग्रह गर्नुभयो । यस औषधी ब्यक्ती एक्कैले मात्र खाएर नहुने भन्दै सबैजनाले खाएमा मात्र यो रोग निवारण हुने बताउनुभयो । समाजमा शिक्षित वर्गलेनै औषधी नखाइदिदा समस्या हुने गरेको उहाको भनाई छ । जिल्लामा यस वर्ष ५ लाख ७४ हजार ५ सय ७० जनालाई हात्तीपाइले विरुद्धको औषधी खुवाउने लक्ष्य रहेको जिल्ला स्वास्थ्य कार्यालय कपिलवस्तुका प्रमुख देवराज पाण्डेले जानकारी दिनुभयो ।
जिल्ला स्वास्थ्य प्रमुख पाण्डेको अध्यक्षता, कुष्ठ रोग अधिकृत डम्बर कुंवरको स्वागत मन्तब्य तथा मलेरिया निरिक्षक मोहन कुमार शर्माको सञ्चालन रहेको पत्रकार अन्तरकृया कार्यक्रममा जिल्लाका सक्रिय पत्रकारहरुको उपस्थिती रहेको थियो ।
कपिलवस्तुमा हाल ५ सय ८९ जना हात्तीपाइलेका बिरामी रहेका छन् । जसमा पुरुष सबैभन्दा बढी ४ सय ६३ र १ सय २६ महिलामा हात्तीपाइले रोगको संक्रमण रहेको जिल्ला स्वास्थ्य कार्यलय कपिलवस्तुले जनाएको छ ।
औषधि सेवनमा लापरबाही गर्दा कपिलवस्तुमा अझै हात्तीपाइले निवारण हुन नसकेको सरोकारवालाहरूले बताएका छन । पढे–लेखेका र बुझेकै व्यक्तिले औषधि सेवन नगरिदिँदा दशकसम्म पनि संक्रमण नहटेको बताइएको छ ।
हात्तीपाइले परीक्षणका क्रममा उक्त रोगको परजीवी १ प्रतिशतभन्दा तल झरेमा मात्रै अभियान सम्पन्न भएको मानिन्छ । तर कपिलवस्तुमा ४.५ प्रतिशत उक्त रोगको परजीवी रहेको छ । सन् २०२० सम्ममा विश्वबाटै हात्तीपाइले निवारण गरिसक्ने लक्ष्य राखिएको थियो । तर, अझै १३ जिल्लामा यो रोगको परजीवी देखिएकाले अहिले २०३० भित्रमा यो रोगलाई निर्मूल पारिसक्ने लक्ष्य राखिएको छ ।
प्रतिक्रिया