नेपालगञ्ज ।
दाइजोमा मोटरसाइकल नल्याएको भन्दै मट्टितेल छर्केर बुहारीलाई जलाएको आरोपमा नरैनापुरका हनिफ शेष (ढपाली) सात वर्षपछि पक्राउ परेका छन् ।
प्रहरीका अनुसार दाइजो नल्याएको भन्दै ससुरा हनिफ, श्रीमान् फरिद शेष ढपाली र सासु सजहाद खाँले ती महिलालाई आगो लगाएका थिए। २०७० चैत्र २ गतेको यो घटनामा प्रत्यक्ष संलग्न श्रीमान् फरिद र सासु सजहाद अझै फरार रहेको प्रहरीले जनाएको छ ।
आगो लगाइएकी उनी लामो समयसम्म काठमाडौँमा उपचार भएर बाँच्न सफल भएकी थिइन्। नरैनापुर गाउँपालिकाको वडा नं. १, सुइया आसपासमा लुकिछिपी बसेको सूचना पाएपछि पुगेको प्रहरीले ससुरा हनिफलाई नियन्त्रणमा लिएको हो ।
घटनापछि हनिफका परिवार नै भारतमा गएर बसेका थिए। नेपाल प्रहरीले पटक–पटक प्रयास गर्दा पनि भारतीय प्रहरीले सहयोग नगर्दा ढपाली परिवारलाई पक्राउ गर्न सकिएको थिएन ।
बाँके प्रहरीले फरार अभियुक्तलाई पक्राउ गर्ने अभियान थालेर भारतीय प्रहरीसँग समन्वय बढाएपछि भारतमा लुकेर बसेका अभियुक्तहरु पक्राउ परिरहेका छन्।
१० चैत्र २०७७ मंगलबार ००:००
254
Shares
प्रतिक्रिया