८ मंसिर २०८१, शनिबार | Sat Nov 23 2024

बर्दियामा खोरमा थुनेर राखेको नरभक्षी बाघ भाग्यो



नेपालगञ्ज ।
बर्दियामा पटक–पटक मान्छेलाई आक्रमण गरेपछि समातेर बाँके राष्ट्रिय निकुञ्जमा ल्याएर राखिएको बाघ भागेको छ ।
निकुञ्जको खैरीस्थित टाइगर होल्डिङ सेन्टरमा राखिएको बाघ मंगलबार बिहान भागेको हो। बिहान ५ः०० बजेसम्म सीसीटीभीमा बाघ देखिएको थियो। खोरलाई भत्काएर बाघ भागेको छ ।
खोरबाटै बाघ भागेपछि निकुञ्जको सुरक्षार्थ खटिएका नेपाली सेना ११ः०० बजेतिर अगैयामा पुगेर सावधानी अपनाउन गाउँले र प्रहरीलाई सूचित गरेको थियो ।
प्रहरीले पूर्व–पश्चिम राजमार्गमा मोटरसाइकल, साइकल र पैदल यात्रामा कडाइ गरेको छ ।
इलाका प्रहरी कार्यालय, कोहलपुरका डीएसपी रविन्द्र खनालका अनुसार, मोटरसाइकल चालकलाई सावधानी अपनाउन भनिएको छ ।
साइकल र पैदलयात्रीलाई शिवखोला र खैरी आसपासमा जान रोकिएको छ। बाँके राष्ट्रिय निकुञ्जभित्रै पूर्व–पश्चिम राजमार्गको खैरी र शिवखोला पर्छन् ।
बाँके राष्ट्रिय निकुञ्जका सहायक वार्डेन महेश न्यौपानेले थुनेर राखेको बाघ भागेको जानकारी आएको बताए। ‘हामीहरु सबै बिहानैदेखि कार्यक्रममा छौँ। खैरीमा थुनेर राखेको बाघ भाग्यो भन्ने सूचना पाएका छौँ,’ सहायक वार्डेन न्यौपानेले भने ।
मान्छे खान पल्केको बाघ खोरबाटै भागेपछि जंगल छेउछाउका बासिन्दालाई सचेत गराइएको छ । निकुञ्ज सुरक्षार्थ खटिएको नेपाली सेनाको टोलीले बाघको खोजी गरिरहेको छ । सहायक वार्डेन न्यौपानेका अनुसार गत बिहीबार बाघलाई बाँकेमा ल्याएको थियो। बर्दियामा पटक–पटक मान्छेलाई आक्रमण भएपछि बाघलाई समातेर बाँकेमा ल्याइएको थियो ।

प्रकाशित मिति : १० चैत्र २०७७ मंगलबार ००:००  ५ : ३८ बजे