८ मंसिर २०८१, शनिबार | Sat Nov 23 2024

राष्ट्रपति भण्डारी र समकक्षी हमिदबीच भेटवार्ता



काठमाण्डौ ।

मित्रराष्ट्र जनवादी गणतन्त्र बङ्गलादेशको राजकीय भ्रमणका रहनुभएका राष्ट्रपति विद्यादेवी भण्डारी र बङ्गलादेशी समकक्षी मोहम्मद अब्दुल हमिदबीच गएराति दुई पक्षीय भेटवार्ता भएको छ । भेटवार्तामा परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली, बङ्गलादेशका विदेशमन्त्री डा एके अब्दुल, बङ्गलादेशका लागि नेपाली राजदूत डा वंशीधर मिश्रलगायत दुवै देशका उच्चपदस्थ अधिकारी सहभागी हुनुहुन्थ्यो।
भेटवार्तापछि उहाँहरु राष्ट्रपति हमिदले त्यही भवनमा आयोजना गर्नुभएको सांस्कृतिक कार्यक्रम र रात्रिभोजमा सहभागी हुनुभयो ।
बङ्गलादेशको राष्ट्रपति निवास बङ्ग भवनमा सोमवार राति भएको भेटवार्तापछि उहाँहरुको उपस्थितिमा दुई देशबीच पर्यटन, संस्कृति, स्यानिटाइजेशन र ट्रान्जिटका विषयमा समझदारीपत्र आदानप्रदान भएको थियो।

बङ्गलादेशका राष्ट्रपति शेख मुजिबुर रहमानको जन्मशताब्दी विशेष समारोहका अवसरमा बङ्गलादेशी राष्ट्रपति हमिदको मैत्रीपूर्ण निमन्त्रणामा राष्ट्रपति भण्डारी सोमवार बिहान ढाका आइपुग्नुभएको थियो। राष्ट्रपति भण्डारीले ढाकामा रहेको ‘नेशनल परेड स्क्वायर’मा आयोजित ‘नेपाल–बङ्गलादेश सम्बन्ध र बङ्गबन्धुको जन्म शतवार्षिकी’ विषयमा विशिष्ट अतिथिका रूपमा सम्बोधन गर्नुभएको थियो ।
यसअघि बङ्गलादेशका प्रधानमन्त्री शेख हसिनाले पनि राष्ट्रपति भण्डारीसँग शिष्टाचार भेट गर्नुभएको थियो ।

प्रकाशित मिति : १० चैत्र २०७७ मंगलबार ००:००  ७ : २९ बजे