८ मंसिर २०८१, शनिबार | Sat Nov 23 2024

बलात्कारपछि हत्या प्रयासको आरोपमा प्रहरी जवान पक्राउ



तिलोत्तमा ।
रूपन्देहीको तिलोत्तमामा युवतीलाई बलात्कारपछि हत्या प्रयास गरेको आरोपमा प्रहरी जवान पक्राउ परेका छन् । नवलपरासीको जर्घामा कार्यरत २३ वर्षीय प्रहरी जवान सुरेश कठरियालाई पक्राउ गरिएको हो । उनीमाथि तिलोत्तमा–११ की १९ वर्षीया युवतीलाई जबर्जस्ती करणी गरी झोलाको डोरीले घाँटी कसेर मार्ने प्रयास गरेको आरोप छ । युवतीकी आमाले दिएको जाहेरीका आधारमा कठरियालाई पक्राउ गरी अनुसन्धान थालिएको इलाका प्रहरी कार्यालय बुटवलका प्रहरी नायब उपरीक्षक प्रतीतसिंह राठौरले बताए ।

जाहेरीमा शुक्रबार साँझ साढे ४ बजे साथीकहाँ जान्छु भनी निस्किएकी छोरी नफर्केपछि रातभरि खोजतलास गरिएको र शनिबार बिहान ८ बजेतिर घरदेखि केही पर अर्धचेत अवस्थामा फेला परेको उल्लेख छ । जाहेरीमा लेखिएअनुसार युवती पानीले भिजेकी थिइन् । उनको घाँटीमा झोलाको डोरीले कसेको डाम थियो । आरोपित प्रहरी जवान कठरियालाई तिलोत्तमाको मंगलापुरबाट पक्राउ गरी इलाका प्रहरी कार्यालय बुटवलमा राखिएको छ । उनीमाथि बलात्कार र ज्यान मार्ने उद्योगमा ५ दिनको म्याद थप गरी अनुसन्धान थालिएको प्रहरी नायब उपरीक्षक राठौरले जानकारी दिए । युवतीको बुटवलस्थित एक अस्पतालमा उपचार भइरहेको छ । छोरी खाना खाने र धेरै बोल्न सक्ने अवस्थामा नरहेको आमाले जानकारी दिइन् ।

प्रकाशित मिति : ९ चैत्र २०७७ सोमबार ००:००  ६ : १७ बजे