काठमाडौं ।
फ्रेन्च लिग वानअन्तर्गत आइतबार राति सम्पन्न खेलमा डिफेन्डिङ च्याम्पियन पेरिस सेन्ट जर्मेन ९पीएसजी०ले जित निकालेको छ ।
लियोनको घरेलु मैदानमा सम्पन्न खेलमा पाहुना टिम पीएसजीले ४–२ को जित निकालेको हो । पीएसजीलाई जित दिलाउले क्रममा केलियन एम्बाप्पेले दुई गोल गरे। योसँगै रेवेली सेन्ट इटिएनले १९६९ मा बनाएको रेकर्ड भंग गरेर एम्बाप्पेले आफ्नो रेकर्ड कायम गरेका छन् ।
अब सबभन्दा सानो उमेरमा १०० गोल पुर्याउने लिग वानका खेलाडी बनेका छन् केलियन एम्बाप्पे । आइतबार राति ड्यानियलो परेराले २–० को अग्रता बनाउनुअघि एम्बाप्पेले सुरुआती गोल गरेका थिए ।
त्यस्तै दोस्रो हाफमा एन्जल डी मारियाले गोल गरेलगत्तै एम्बाप्पेले दोस्रो गोल गरेर खेलको ५२ औं मिनेटमा कीर्तिमान बनाएका हुन् ।
यससँगै लियोनको इस्लम स्लिमानी र म्याक्सवेल कर्नेटले गोल फर्काएपछि खेलको नतिजा ४–२ बनेको थियो । यो जितले पीएसजीलाई फ्रेन्च फुटबल लिगको शीर्षस्थानमा पुर्याएको छ ।
समान ६३ अंक भएको लिल्ललाई गोलअन्तरका आधारमा पछि पार्दै पीएसजी शीर्षस्थानमा उक्लिएको हो । दुवै टिमले समान ३० खेल खेलेका छन् । पराजित लियोन भने ६० अंकका साथ तेस्रोे स्थानमा छ ।
गएरातिको जितसँगै ब्राजिलियन फरवार्ड नेयमार पनि ६ हप्ताको उपचारपछि मैदान फर्किएका छन् । उनले चोटका कारण च्याम्पियन्स लिगमा बार्सिलानाविरुद्धको खेल गुमाएका थिए ।
प्रतिक्रिया