नवलपरासी
नवलपरासीका प्रौढ महिलाहरु अनौपचारिक शिक्षामा लागेपछि अक्षर चिन्ने भएका छन् । नवलपरासी गैँडाकोटका महिलाहरु अक्षर सिक्न थालेपछि खुशी भएका हुन् । गैँडाकोट ४ का गीता वाग्ले प्रौढ शिक्षामा लागेपछि अहिले अंग्रेजी र नेपाली दुबै अक्षरहरु चिन्न र बोल्न सक्ने हुनुभएको छ । मौलाकाली सामुदायिक सिकाइ केन्द्रमा अनौपचारिक कक्षा लिन पाएपछि उहाँ खुशी हुनुका साथै नातिनातिनालाई पनि पढाउन सक्नुहुन्छ ।
सिकाइ केन्द्रमा पढ्नमा व्यस्त ५८ वर्षका उमा केसी सानै देखिको रहर पूरा भएकोमा दङ्ग हुनुहुन्छ । छोरीले पढ्न हुँदैन भन्ने बुबा र त्यतिबेलाको समाजको सोंचका कारण उहाँको पढ्ने रहर अधुरै थियो । अधुरो रहर बुढेसकाल लागेपछि पूरा भएको छ । गैँडाकोट ४ मा रहेको मौलाकालिका सामुदायिक सिकाइ केन्द्रमा ४१ जना महिलाहरु पढ्छन् ।
उनीहरु बिहानै घरको काम सक्छन् । ११ देखि ३ बजेसम्म कक्षा कोठामा बसेर विद्यार्थीले झैं पढ्छन् । पढ्न थालेपछि सामान्य हिसाब किताबका लागि अरुलाई गुहार्नुपर्ने बाध्यता हटेको गैँडाकोट ४ का ५५ वर्षका मानकुमारी लौडारीले भनाई छ ।
प्रौढ उमेरका दिदी बहिनीलाई पढाउन पाउँदा शिक्षक याममाया पुलामी मगर पनि निकै खुशी देखिनुहुन्छ । वि.सं. २०६८ सालदेखि गैँडाकोटमा अनौपचारिक शिक्षा कार्यक्रमको थालनी भएको थियो । पछिल्लो तीन वर्ष यता करिब ६ सय जनाले अनौपचारिक शिक्षा हासिल गरिसकेका छन् । सामान्य लेखपढ् गर्नसक्ने भएपछि पाका उमेरका महिलामा आत्मविश्वास मात्रै बढेको छैन, समाजले गर्ने व्यवहार पनि फेरिएको छ ।
प्रतिक्रिया