८ मंसिर २०८१, शनिबार | Sat Nov 23 2024

एमालेको महिला, युवा र विद्यार्थी संगठनमा दह्रो पकड राख्दै खनाल–नेपाल पक्ष



काठमाडौं ।
नेकपा एमालेका वरिष्ठ नेता झलनाथ खनाल र माधवकुमार नेपाल पक्षले पार्टीको भातृ संगठनमा दरिलो पकड राखेको छ ।

२३ फागुनमा सर्वोच्च अदालतको फैसलापछि खनाल–नेपालले एमालेमा समानान्तर कमिटी गठन गरेको भन्दै प्रधानमन्त्रीसमेत रहेका पार्टी अध्यक्ष केपी शर्मा ओली नेतृत्वको एमालेले खनाल–नेपाल पक्षका चार नेतालाई स्पष्टीकरण सोध्ने निर्णय गरे पनि यो पक्षले पार्टीको महिला र युवा संगठनमा बलियो पकड बनाएको छ ।

खनाल–नेपाल पक्षले यतिबेला भ्रातृ संगठनहरुको भेला राख्दै महिला संघ, युवा संघ र विद्यार्थी संगठनमा नयाँ नेतृत्व मनोनयनको तयारी गरेको छ ।

चैत चार र पाँचमा ललितपुरस्थित हेरिटेज गार्डेनमा राष्ट्रिय कार्यकर्ता भेला आयोजना गर्दै खनाल–नेपाल पक्षले देशव्यापी रुपमा कार्यकर्तालाई प्रशिक्षण गराउँदै संगठन विस्तार गर्ने निर्णय गरिसकेको छ ।

सानेपामा सम्पन्न खनाल–नेपाल पक्षको उक्त भेलालगत्तै काठमाडौंमा भएको महिला भेलाले जयन्ती राईको अध्यक्षतामा अखिल नेपाल महिला संघको समानान्तर कमिटी गठन गरेको छ । एमालेको महिला संघकी अध्यक्षमा सीता पौडेल चयन भइसकेकी छिन् ।

खनाल–नेपाल पक्षले पार्टी संगठनलाई आफ्नो नेतृत्वमा ल्याउँदै महिला संगठनलाई व्यवस्थित स्वरुप दिएको छ । माधव नेपाल पक्षीय अध्यक्ष राईका अनुसार भेलाले ४ सय ७५ सदस्यीय केन्द्रीय कमिटी निर्माण गरेको छ । जसको महासचिवमा नेपाल पक्षकी नेतृ शान्ति अधिकारी चयन भएकी छिन् ।

सात जना उपाध्याक्षमध्ये प्रदेश १ यशोदा अधिकारी, २ उषा पोखरेल, वागमतीमा सावित्रा भुसाल, गण्डकीमा सीता गिरी वली, लुम्बिनीमा राजेन्द्रलक्ष्मी गैरे, सुदूरपश्चिममा माया भट्ट र कर्णाली विजया विष्ट छन् । उपमहासचिव सरला यादव, कोषाध्यक्ष देवकी श्रेष्ठलाई चयन गरेको छ ।

युवा संघ र विद्यार्थीमा पनि पकड

आम निर्वाचन, महाधिवेशन र केन्द्रीय कमिटीको बैठकमा पनि प्रभाव जमाउनसक्ने एमालेको युवा संघमा पनि खनाल–नेपाल पक्षले पकड जमाएको छ ।

शनिबार सम्पन्न माधव नेपाल पक्षीय युवा संघको भेलाले नरेश शाहीलाई अध्यक्ष चयन गरेको छ । संघका बरिष्ठ उपाध्यक्षमा क्रान्ति बुर्लाकोटी र महासचिवमा दिपक जीएम सहित संगठनलाई नयाँ नेतृत्व दिलाइएको छ ।

यता अध्यक्ष ओली पक्षले नेकपा विभाजन पछि वचनबहादुर सिंहलाई युवासंघको अध्यक्ष तोकेको छ । सिंहको नेतृत्वमा युवा संघले नयाँ सक्रियता पाएको ओली पक्षको दाबी रहे पनि खनाल–नेपाल पक्षले शाहीको नेतृत्वको युवा संघले सबै देशभक्त युवालई एमतावद्ध र पार्टीप्रति थप जिम्मेवार बनाउने बताएको छ ।

विद्यार्थी संगठनमा पनि खनाल–नेपाल पक्षले नयाँ नेतृत्वको तयारी सुरु गरेको छ । यो पक्षले चैत १० गते विद्यार्थी भेला गरी अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) को पनि नयाँ नेतृत्व चयन गर्ने भएको छ ।

चैत चार र पाँचमा आयोजित भेलाले एमालेको केन्द्रदेखि मातहत कमिटीहरुमध्ये खनाल–नेपाल पक्षमा हाल कायम रहेका नयाँ ठाउँमा सोही कमिटीमा रहेका नेताका शीर्षताका आधारमा संयोजक तोक्दै देशव्यापी नयाँ कमिटी बनाउने निर्णय गरेको छ ।

प्रकाशित मिति : ९ चैत्र २०७७ सोमबार ००:००  ७ : ४४ बजे