८ मंसिर २०८१, शनिबार | Sat Nov 23 2024

कोरोनाविरुद्ध जनस्वास्थ्यका मापदण्ड उल्लङ्घन हुने क्रम बढ्यो



काठमाडौं ।
नेपालमा पछिल्लो पटक कोरोनाविरुद्ध जनस्वास्थ्यका मापदण्ड उल्लङ्घन हुन थालेको छ । सबै क्षेत्र तथा स्थानहरुमा भिडभाड बढेको छ भने मानिसहरुले मास्क लगाउने, दुरी कायम गर्ने तथा सरसफाइ गर्ने जस्ता काम बिर्सन थालेका छन् ।

जसले गर्दा नेपालमा कोरोनाको दोस्रो लहर देखिन सक्ने भन्दै चिन्ता सुरु भएको छ । भारत सहित अन्य देशहरुमा कोरोना सङ्क्रमण फेरि बढेकाले नेपालमा पनि यसको लहर फैलने खतरा रहेको छ ।

त्यसैले खोप लगाएका वा नलगाएका सबैले अनिवार्य रुपमा मास्क लगाउने, भौतिक दुरी कायम गर्ने, साबुन पानी वा स्यानीटाइजरले बारम्बार हाल सफा गर्ने बानी गर्न जनस्वास्थ्य विज्ञहरुले बताएका छन् ।

सीआईएनसँग कुरा गर्दै जनस्वास्थ्य विज्ञ डा. अनुप सुवेदीले पछिल्लो समय भारतमा कोरोना सङ्क्रमणको दर बढ्दै जादा नेपालमा भने कुनै सावधानी नपनाइएको र त्यसले आगामी दिनमा जोखिम बढ्न सक्ने भन्दै सचेत रहन आग्रह गर्नुभयो ।

उहाँले भारतसँगको खुला सीमानाका कारण मानिसहरु सजिलै ओहोरदोहोर गर्ने र नेपालमा कोरोनाको जोखिम सुरुको जस्तै बढ्ने भएकाले जनस्वास्थ्यका मापदण्ड पालना गर्न पनि आग्रह गर्नुभयो ।

डा. सुवेदीले कोरोनाको विश्वका विभिन्न मुलुकमा कोरोना विरुद्धको खोप अभियान जारी रहेपनि सङ्क्रमणको दर नरोकिएको हुँदा खोप लगाइसकेका व्यक्तिहरुले पनि ढुक्कसँग हिँड्ने गरेको देखिएकाले त्यस्तो लापरबाही नगर्न पनि सेचत गराउनुभयो ।

प्रकाशित मिति : ८ चैत्र २०७७ आइतबार ००:००  १० : ०६ बजे