बिष्णु कुमार आले, अर्घाखाँची ।
जिल्ला अस्पताल सन्धिखर्कमा कार्यरत १५ जना स्वास्थ्यकर्मी सम्मानित भएका छन् । अर्घाखाँची जिल्ला अस्पताल लुम्बिनी प्रदेशमै प्रथम र देशभरबाट तेस्रो स्थान हात पार्न स्वास्थ्यकर्मीको ठूलो भूमिका रहेको भन्दै चिकित्सकसहित १५ जना स्वास्थ्यकर्मी सम्मानित भएका हुन् ।
प्रादेशिक अस्पतालहरूमा न्यूनतम सेवा मापदण्ड (एम.एस.एस) मुल्याङ्कन तथा समिक्षाका आधारमा अर्घाखाँची जिल्ला अस्पताल ७५ प्रतिशत अंकसहित लुम्बिनी प्रदेशमै प्रथम स्थान र देशमै तेस्रो स्थान हात पार्न सफल भएको हो ।
कुल ९ सय ३९ पुर्णाङ्क रहेको मुल्याङ्कनमा विभिन्न विषयमा गरी ७५ प्रतिशत अंकसहित जिल्ला अस्पताल प्रथम भएको हो । यस्तै देशभरका ३२ वटा अस्पतालहरूमध्ये तेस्रो नम्बरमा परेको अर्घाखाँची अस्पतालका प्रमुख डा. कपिल गौतमले बताए ।
उनले सबैको साथ र सहयोगबाट उत्कृष्ट अस्पताल भएको भन्दै आगामी दिनहरुमा पनि सहयोगको अपेक्षा व्यक्त गरे । जिल्ला अस्पतालमा आयोजित प्रादेशिक अस्पतालहरूमा न्यूनतम सेवा मापदण्ड (एमएसएस) मुल्याङ्कन तथा समीक्षा कार्यक्रममा मुल्याङ्कनको नतिजा सार्वजनिक गर्दै यस्तो जानकारी गराइएको हो ।
अस्पतालमा २४ घण्टे ल्याब र एक्सरे सेवा सुरु भएको छ । अस्पताल स्थापना भएको ३१ वर्षपछि चौबिसै घण्टा ल्याब र एक्सरे सेवा सुरु भएको छ । जिल्लावासीको मागलाई सम्बोधन गर्दै सर्वसाधारणले जिल्ला अस्पताल मै स्वास्थ्य सेवा पाउन सकुन् भन्ने उद्देश्यले चौबिसै घन्टे ल्याब, एक्सरे सेवा, फिजियोथेरापी, दन्त सेवा, लगायतका सेवाहरु शुरु गरिएको अस्पतालले जनाएको छ ।
यससँगै बिरामीहरुलाई रातीको समयमा महंगो शुल्क तिरेर बाहिरी निजी मेडिकल धाउनुपर्ने बाध्यता हटेको छ । ब्लड बैंकको अभावले सामान्य अप्रेशन समेत नहुने जिल्ला अस्पताल अर्घाखाँचीमा गर्भवती महिलाहरुको सफल अप्रेशन भएको छ । अप्रेशन गर्न शुरु भएपछि अर्घाखाँची सहित गुल्मी र प्युठान जिल्लाका स्थानीय प्रत्येक्ष लाभान्वित भएपछि उनीहरू खुशी भएका छन् ।
प्रतिक्रिया