८ मंसिर २०८१, शनिबार | Sun Nov 24 2024

१० हजार घुस मागेको आरोपमा इन्स्पेक्टरमाथि कारबाहीको सिफारिस



दाङ ।

जिल्ला प्रहरी कार्यालय सल्यानले सेवाग्राहीबाट दश हजार घुस मागेको आरोपमा एक प्रहरी निरीक्षकलाई विभागीय कारबाहीको लागि पत्राचार गरेको छ। सल्यानस्थित इलाका प्रहरी कार्यालय लुहामका प्रमुख प्रहरी निरीक्षक श्यामकुमार यादवविरूद्ध चैत २ गते जिल्ला प्रहरी कार्यालयमा एक सेवाग्राहीले आफूसँग दश हजार घुस मागेको भन्दै जाहेरी दिएका थिए।

प्रहरी निरीक्षक यादवविरूद्ध दाङ तुलसीपुर उपमहानगरपालिका-९ स्थित नव कान्तिपुर भलाई तथा इन्भेष्ट कम्पनी प्रालिका शाखा म्यानेजर महेन्द्र महराले दुर्घटना प्रमाणित गराउन आफूसँग दश हजार घुस माग गरेको भन्दै जाहेरी दिएका थिए।

सोही जाहेरीको आधारमा उनीविरूद्ध प्रहरी नियमावली बमोजिम कारबाही गर्न शुक्रबार कर्णाली प्रदेश प्रहरी कार्यालय सुर्खेतमा पत्राचार गरेको सल्यानका प्रहरी नायब उपरीक्षक गोविन्द थापाले बताए।
‘शुक्रबार दिउँसो प्रदेश प्रहरी कार्यालयमा आरोपितलाई आन्तरिक कारबाहीका लागि पत्राचार गरिसकेको छु,’ थापाले भने ‘आरोपित प्रहरी निरीक्षक यादवलाई कारबाही गर्नेरनगर्ने भन्ने अधिकार जिल्लालाई छैन।’ प्रहरी नायब उपरीक्षक थापाले प्रहरी आचरण विपरितका गतिबिधि गर्ने जो कोही पनि सजायको भागिदार हुनुपर्ने बताए।
‘हामी देश र जनताको सेवाको लागि खटिएका हुन्छौं,’ उनले भने ‘ प्रहरी अधिकारीले नै जनतालाई व्यक्तिगत लाभका लागि दुःख दिन अक्षम्य अपराध हो।’

प्रकाशित मिति : ७ चैत्र २०७७ शनिबार ००:००  १ : १६ बजे