८ मंसिर २०८१, शनिबार | Sun Nov 24 2024

बाँके बन्यो पूर्ण खोप जिल्ला



नेपालगञ्ज ।
बाँकेलाई पूर्ण खोप सुनिश्चित भएको जिल्ला घोषणा गरिएको छ। शुक्रबार एक समारोहको आयोजना गर्दै बाँकेलाई पूर्ण खोप जिल्ला घोषणा गरिएको हो। बाँके पूर्ण खोप जिल्ला घोषणा हुने लम्बिनी प्रदेशको ९ औँ जिल्लामा भएको छ। यसअघि आठ वटा जिल्ला पूर्ण खोप जिल्ला घोषणा भइसकेका छन्। अब बर्दिया, कपिलवस्तु र रुकुमपूर्व पूर्ण खोप जिल्ला घोषणा हुन बाँकी रहेका छन्। पछिल्लो चार महिनाको निरन्तरको प्रयासपछि बाँकेलाई पूर्ण खोप जिल्ला घोषणा गरिएको हो। यो बीचमा खोपबाट बन्चित रहेका ९ सय ५४ जना बालबालिकालाई समेटिएको छ। १५ महिनासम्मका बालबालिकालाई खोप लगाउने गरिन्छ।

१५ महिनासम्ममा खोप नलगाएका ९ सय ५४ जनालाई घरघरमा पुगेर खोप लगाइएको हो। यी बालबालिका १६ देखि २३ महिनाका हुन्। धेरै बालबालिका नेपालगञ्जकै छुटेका थिए। खोप अधिकृत भेषराज शर्माका अनुसार नेपालगञ्जमा २ सय ६३ जना बालबालिका छुटेका थिए।

सबैभन्दा कम २४ जना वैजनाथ गाउँपालिकामा छुटेका थिए। बाँकेमा १५ महिनासम्मका १३ हजार ६ सय ४७ जना बालबालिका रहेका छन्।

लुम्बिनी प्रदेशका सामाजिक विकास मन्त्री सुदर्शन बराल, प्रदेश सांसद आइपी खरेल, स्वास्थ्य सेवा विभागका डा। झलक शर्मा, लुम्बिनी प्रदेश स्वास्थ्य निर्देशक डा। विनोद गिरीले पूर्ण खोप जिल्ला भइसकेकाले अब त्यसको दिगोपनामा ध्यान दिनुपर्ने बताए।
जिल्ला समन्वय समितिका संयोजक अजय श्रीवास्तवको अध्यक्षतामा भएको कार्यक्रममा स्वास्थ्य कार्यालय, बाँकेका प्रमुख धीरजंग शाह, पालिका प्रमुख, स्वयंसेविकाहरुले खोपलाई निरन्तरता दिने कुरामा मन्तब्य राखेका थिए।

प्रकाशित मिति : ७ चैत्र २०७७ शनिबार ००:००  ८ : ०८ बजे