काठमाडौं ।
परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले सदन सञ्चालनको संवैधानिक व्यवस्था पालना हुन नसकेको भन्दै सभामुखसँग असन्तुष्टि राखेका छन् । आजको संसद् बैठकमा बोल्दै मन्त्री ज्ञवालीले संविधानले सदन सञ्चालनको व्यवस्था गरेको भन्दै त्यसको पालना हुन नसकेको बताए ।
संसद् पुनःस्थापना भए प्रधानमन्त्रीले राजीनामा दिने बताएका ज्ञवालीले सरकारले पुनःस्थापनालाई स्वीकार गरेको भन्दै भनाइ सुरु गरेका थिए । “सरकारले राजनीतिक विषयमा केही दृष्टिकोण राख्दै सर्वोच्चको प्रतिनिधिसभा पुनःस्थापना स्वीकार गरेको छ ।
अहिलेको अवस्थामा ताजा जनादेश राजनीतिक निकास हुन्छ भनेर सरकारले निर्वाचन घोषणा गरेका थियो । तर, अब यही सदनबाट स्थायित्व र निकास खोज्न बाध्य छ,” ज्ञवालीले भने, “सभामुख महोदय, तर सुरुवाती दिनका केही बैठकबाट राम्रो संकेत मिलिरहेको छैन । सदन सञ्चालनसम्बन्धी संवैधानिक व्यवस्थाहरु छन् ।”
उनले संविधानले सदन नचलेको समयमा अध्यादेश ल्याउने अधिकार सरकारलाई दिएको भन्दै त्यसलाई सदनले स्वकीकार नगरेको बताए । “त्यसरी ल्याएका अध्यादेश संसद्को पहिलो बैठकमा पेस गर्ने संवैधानिक व्यवस्था नै हो । तर, तेजाब आक्रमण, कोरोना खोपसम्बन्धी जीवनदायिनी अध्यादेश स्वीकृत गरिएन ।”
उनले सरकार सर्वोच्च अदालतको आदेशको ‘लड्डु खाएर प्रशंसा’ वा ‘झोक्राएर अस्वीकार’ दुवै नगर्ने भन्दै नेकपा एमाले र नेकपा माओवादी केन्द्रको एकतामा सर्वोच्चले अल्पविराम लगाइदिएको बताए । “नाम मिलेका कारण नाम खारेज भएकाले एकताका लागि थप प्रयास गर्नुपर्ने कुरा सर्वोच्च र निर्वाचन आयोग दुवैले गरेका छन्,” ज्ञवालीले भने, “सरकारले दुवै मुद्दा हारेको छ । तर, सरकार त्यसलाई स्वीकार गर्दै कार्यान्वयन गरिरहेको छ ।”
प्रतिक्रिया