८ मंसिर २०८१, शनिबार | Sun Nov 24 2024

चीनबाट खोप आउने सुनिश्चित भए छिट्टै अर्को चरणको अभियान सुरु हुने



काठमाण्डौ
चीनबाट ल्याउने भनिएको खोपको सुनिश्चिततालाई हेरेर अर्को उमेर समूहकालाई खोप लगाउन सुरु गर्ने तयारी भएको छ । चीनबाट आउने भनिएको खोप सुनिश्चित भयो भने केहीदिनमै फेरि खोप अभियान सुरु गरिने स्वास्थ्य मन्त्रालयका प्रमुख विशेषज्ञ डाक्टर रोशन पोखरेलले जानकारी दिनुभयो ।

परराष्ट्र मन्त्रालयमार्फत् खोप जतिसक्दो छिटो ल्याउनेबारे छलफल भइरहेको र बेइजिङमा रोकिएको खोप भने अबको २र४ दिनभित्रै आइपुग्ने उहाँले बताउनुभयो । चीनले अनुदानमा दिएको खोप बेइजिङमा रोकिएको छ । बेइजिङबाट नेपाल आफैँले खोप ल्याउनु पर्ने भएकाले अहिले परराष्ट्र मन्त्रालयमार्फत समन्वयको काम भइरहेको उहाँले जानकारी दिनुभयो । नेपालमा अहिले ७ लाख डोज खोप मौज्दात छ । अहिलेसम्म नेपालमा झण्डै ६ प्रतिशत व्यक्तिले कोरोना खोप लगाएका छन् । अबको खोप अभियानमा ५५ वर्षभन्दा माथिकालाई खोप लगाउने कि ६० वर्षभन्दा माथिकालाई लगाउने भन्नेबारे छलफल भइरहेको उहाँको भनाइ छ ।

आउनुपर्ने खोप तत्काल नआउने अवस्थामा पनि दोस्रो डोज खोप लगाउनेहरुका लागि भने कुनै समस्या नरहने मन्त्रालयले दाबी गरेको छ । नेपालले भारतको सिरम इन्स्टिच्युट अफ इन्डियासँग २० लाख डोज खोप खरिद गरे पनि १० लाख मात्रै भित्रिएको थियो। यसअघि भारतले नेपाललाई १० लाख डोज खोप अनुदानमा दिएको थियो । यस्तै, कोभ्याक्समार्फत् नेपालले अनुदानमा तीन लाख ४८ हजार डोज खोप पाएको थियो । कोभ्यासमार्फत् आउनु पर्ने थप खोपमा ढिलाइ र भारतसँग खरिद गरिएको खोप समयमा नआउँदा खोप अभियान तत्काललाई रोकिएको छ।
स्वास्थ्य मन्त्रालयले भारतबाट आउन बाँकी १० लाख डोज खोप ल्याउनेबारे भारतसँग छलफल भइरहेको बताउँदै आएको छ ।

प्रकाशित मिति : ६ चैत्र २०७७ शुक्रबार ००:००  ९ : ३१ बजे