काठमाडौँ ।
गुटगत भेलामा सहभागी हुने नेताहरुलाई कारवाहीको प्रक्रिया अघि बढाउने तथा संसदीय दलको विधान संशोधनका लागि कार्यदल गठन गर्दै नेकपा एमालेको बैठक टुंगिएको छ ।
पार्टी अध्यक्ष समेत रहेको प्रधानमन्त्री केपी शर्मा ओलीको आह्वानमा बिहीबार एमाले संसदीय दलको बैठक बालुवाटारमा बसेको हो ।
सो बैठकले संसदीय दलको बोर्ड गठन गर्ने निर्णय पनि गरेको छ । सो बोर्ड २७ सदस्यीय हुने छ । अहिले २४ सदस्य रहेको बोर्डमा तीनजना पछि थपिने छन् । विधान संशोधन समितिमा विशाल भट्टराई, शेरबहादुर तमाङ्ग र बिमला राई रहने निर्णय गरि आउँदो शनिबार चैत ७ गते पुनः बस्ने गरि बैठक सकिएको सांसद कृष्ण राईले बताए ।
संसदीय दलको बैठकले गरेका निर्णयबारे जानकारी दिँदै नेता शेरबहादुर तामाङ्ग ।
यस्तै बैठकले गुटगत भेला नगर्न, पार्टी बाहेक अरु कसैको निर्देशन नमान्न र आत्माआलोचनासहित दल र पार्टीको कार्यक्रममा सहभागी हुन नेताहरुलाई अव्हान गर्ने निर्णय पनि गरेको छ । अन्यथा विधान अनुसार स्पष्टिकरण सोधिने र कारवाही प्रक्रिया अगाडि बडाउने निर्णय पनि बैठकले गरेको छ । बालुवाटार बैठकमा नेता माधवकुमार नेपाल पक्षका अधिकांश सांसदहरु सहभागी भएनन् ।
ललितपुरको सानेपामा रहेको एक होटलमा बिहीबार बिहान छलफल गरेर पहिले बालुवाटार बैठकमा जाने निर्णय गरेका उनीहरुले आन्तरिक विरोधपछि पुनः नजाने निष्कर्षमा पुगेका थिए ।
तर ओलीको बोलाएको संसदीय दलको बैठकमा लालबाबु पण्डित, बामदेव गौतमकी पत्नी तुल्सा थापा सहभागी भए ।
यस्तै नन्दा चपाईँ, गंगा चौधरी, माया ज्ञावाली, सबिना हुसैन, गोपाल बम र बिष्णु शर्मा लगायत विगतमा माधव नेपालले आफ्नो पक्षमा दाबी गरेका सांसदहरु पनि बालुवाटार बैठकमा सामेल भए ।
प्रतिक्रिया