काठमाडौं ।
प्रेस काउन्सिल नेपालले नेपाली कांग्रेस नेता नविन्द्रराज जोशीको स्वास्थ्यावस्थाबारे गलत समाचार सम्प्रेषण गर्ने सञ्चारमाध्यमलाई कारवाही गर्ने भएको छ । पूर्वमन्त्री समेत रहेका जोशी फागुन १३ गते रातिदेखि नै मस्तिष्काघात भई थापाथलीस्थित नर्भिक इन्टरनेशनल हस्पिटलमा भेन्टिलेटरमा राखेर उपचार गराइरहेका छन् ।
बुधबार दर्जनौं अनलाइनले जोशीको स्वास्थ्यलाई लिएर श्यामश्वेत तस्बिर राखेर भ्रामक समाचार दिइरहेको पाइएको थियो। उक्त समाचारपछि अस्पतालले बिहान ७ बजे प्रेस विज्ञप्ति निकालेर जोशीको उपचार भेन्टिलेटरमा भइरहेको र अनलाइन संचारमाध्यमहरुले नकारात्मक समाचार सम्प्रेषण गरिरहेको जनाउँदै ध्यानाकर्षण भएको जनाएको थियो। समाचारको खण्डन गरेको थियो। नेता जोशीको चिन्ताजनक अवस्थामा अहिले पनि भेन्टिलेटरमै उपचार भइरहेको छ ।
सोही विषयलाई लिएर समाचारको अनुगमन तथा नियमन गर्ने निकाय प्रेस काउन्सिल नेपालले ध्यानाकर्षण पत्र जारी गर्दै गलत समाचार सम्प्रेषण गर्ने अनलाइन सञ्चारमाध्यममाथि कारवाही प्रक्रिया अगाडि बढाएको जनाएको छ । समाचारलाई सामाजिक सञ्जालमा पोष्ट गर्नेहरुलाई पनि सचेत गराइएको छ । काउन्सिलका सूचना अधिकारी उप प्रशासकीय अधिकृत रामशरण बोहराद्वारा जारी उक्त ध्यानाकर्षण पत्रमा काउन्सिलको स्व अनुगमनमा जोशीको उपचार गराइरहेको अवस्थामा विपरीत समाचार सम्प्रेषण गरेर केही अनलाइन संचारमाध्यमहरुले पत्रकार आचार संहिताको घोर उल्लंघन गरेको ठहर गर्दै त्यस्ता सञ्चारमाध्यममाथि कारवाही प्रक्रिया अगाडि बढाएको जनाइएको छ ।
जोशीको स्वास्थ्य अवस्थाबारे तथ्यहीन र असन्तुलित समाचार सम्प्रेषण गरेर व्यक्तिको स्वास्थ्यबारे पाठक, श्रोता वा दर्शकमा भ्रम, उत्तेजना र निराश उत्पन्न गराएकोप्रति काउन्सिलको गम्भीर ध्यानाकर्षण भएको उल्लेख छ । साथै पत्रमा ‘को पहिला हुने होडबाजी’मा पुष्टि बेगर मानिसको जीवनसँग सम्बन्धित मानवीय संवेदना खल्बलिने र प्रभावित व्यक्तिलाई थप पीडा पुग्ने किसिमका सामग्री सम्प्रेषण नगर्न, नगराउन र पत्रकार आचारसंहिताप्रति पूर्णप्रतिवद्ध रहन सरोकारवाला पक्षको ध्यानाकर्षण गराएको छ ।
प्रतिक्रिया