काठमाडौं ।
जर्मन दार्शनिक कार्ल मार्क्सले ३० वर्षको उमेर सन् १८४८ मा कम्युनिस्ट घोषणापत्र प्रकाशित गरेपछि विश्वमा नै कम्युनिस्ट पार्टी स्थापनाको लहर चल्यो । तर, त्यसअघि नै विश्वमा कम्युनिस्ट पार्टी स्थापनाको सुरुवात भइसकेको थियो । सन् १८४२ मा जर्मन आप्रवासीहरूले कानुनी लीगको स्थापना गरेका थिए भने सन् १८४३ मा कम्युनिस्ट लीगको स्थापना भएको थियो । सन् १८४६/४७ मा जेनेभामा भएको लिगको कंग्रेसले मार्क्स र एंगेल्सलाई कम्युनिस्ट घोषणा पत्र निर्माणको जिम्मा दिएअनुसार सन् १८४८ फेब्रुअरी १२ मा कम्युनिस्ट घोषणापत्र जारी भयो ।
मार्क्स–एंगेल्सद्वारा लिखित कम्युनिस्ट घोषणापत्र जारी भएपछि यसले ठूलो क्रान्ति र विश्व राजनीतिमा हलचल ल्यायो । यस विषयमा स्वयम् मार्क्स भनेका छन्, ‘युरोपमा एउटा हाउ घुमफिर गरिरहेको छ, साम्यवादको हाउ । यसलाई धपाउन भनेर पोप र जार, मेटर्निख र गीजो, फ्रेन्च उग्रवादी र जर्मन पुलिस अर्थात् पुरानो युरोपका सारा सत्ताधारीहरू एक भएका छन् ।’
तर सन् १८५२ मा कम्युनिस्ट लीग विघटन भयो । मार्क्सको पहलकदमीमा सन् १८६४ मा जेनेभामा सम्पन्न प्रथम महाधिवेशनद्वारा प्रथम अन्तर्राष्ट्रियको गठन भयो । जसको अध्यक्ष प्रुधो थिए । सन् १८६७ सेप्टेम्बरमा दोस्रो महाधिवेशन, सन् १८६८ मा तेस्रो र १८६९ सेप्टेम्बरमा चौथो महाधिवेशन भयो । सन् १९७१ मा पेरिस कम्युनको स्थपान भएपनि यो ७२ दिनसम्म मात्रै टिक्यो । सन् १८७६ मा प्रथम अन्तर्राष्ट्रियको छैंठौं महाधिवेशन भएपछि यसको विघटन भयो ।
जर्मनीमा पेरिस कम्युनअघि सन् १८६९ मा सामाजिक जनवादी पार्टी, रुसमा १८८३ मा श्रमिक मुक्ति दल, अमेरिकामा सामाजिक मजदुर पार्टी (सन् १८७६), फ्रान्सेली मजदुर पार्टी (१८७९), स्पेनमा (१८८९), अस्ट्रियमा (१८८९), स्विजरल्यान्डमा (१८८९), स्विडेनमा (१८८९) आदि मजदुर वर्गीय पार्टीहरू स्थापना भए ।
सन् १८८३ मा कार्ल मार्क्सको निधन भयो भने फ्रेडरिक एंगेल्सको पहलमा १४ जुलाई १८८९ पेरिसमा २० देशका ३९१ प्रतिनिधि भेला भई दोस्रो अन्तर्राष्ट्रियको निर्माण भयो । जसमा काउत्स्की, लिबनेख्त, बेबल, बर्नस्टिन, क्लारा जेटकिन, प्लेखानोभजस्ता नेताहरू उपस्थित थिए ।
सन् १८९१ मा दोस्रो अन्तर्राष्ट्रियको दोस्रो अधिवेशन, सन् १८९३ मा तेस्रो अधिवेशन पश्चात ६ अगस्ट, सन् १८९५ मा एंगेल्सको मृत्यु भयो । सन् १८९६ चौथौ अधिवेशन, सन् १९०० मा पाँचौं, १९०७ छैठौं, १९०७ अगस्टमा सातौं हुँदा लेलिनको सहभागिता थियो । सन् १९१० मा आठौं, सन् १९१२ मा ९ औं महाधिवेशन भए । सन् १९१५ मा दोस्रो अन्तराष्ट्रिय विघटन भयो ।
सन् १९१७ मा रुसमा अक्टोबर क्रान्ति सम्पन्न भयो । रुसी अक्टोबर क्रान्तिबाट विश्वको झण्डै एकतिहाई भूभाग कम्युनिस्टको नियन्त्रणमा गयो । रुसको अक्टोबर क्रान्तिपछि १९१८ मा जर्मनी र फिनल्याण्डमा पुँजीवादी क्रान्ति सम्पन्न भयो । त्यसपछि अल्बानिया, हंगेरी, चेकोस्लाभाकिया, पोल्याण्ड, युगोस्लाभियामा क्रान्ति भयो भने अष्ट्रिया, हंगेरी, पोल्याण्ड, जर्मनी, लाटभिया, लिथुनिया, इस्टोनिया, अर्जेन्टिना आदि देशहरूमा कम्युनिस्ट पार्टी स्थापना भए ।
सन् १९२४ जनवरी २३ मा रुसी अक्टोबर क्रान्तिका नेता तथा विश्वको पहिलो समाजवादी आन्दोलन सफल पार्ने नेता लेनिनको मृत्यु भयो । उनका उत्तराधिकारी स्टालिनको १९५३ मा मृत्यु भएपछि सन् १९५६ मा सोभियत संघको कम्युनिस्ट पार्टीको बीसौं महाधिवेशनमा ख्रुश्चोभको नेतृत्वमा कम्युनिस्ट आन्दोलनमा आधुनिक संशोधनवादको जन्म भयो ।
त्यसअघि चीनमा माओको नेतृत्वमा नयाँ जनवादी क्रान्ति सम्पन्न भई १ अगस्ट १९४९ मा जनवादी गणतन्त्र बनिसकेको थियो । सन् १९९० मा आएर रुसमा कम्युनिस्ट सत्ता ढलेपछि विश्वमा कम्युनिस्ट आन्दोलन संकटको अवस्थामा पुग्यो भने कतिपय कम्युनिस्ट पार्टीहरू रक्षात्मक अवस्थामा पुगे ।
अहिले पनि विश्वका धेरै देशमा कम्युनिस्ट पार्टी छन् । तर ति सबैले कम्युनिस्ट पार्टी र पुँजीवादविरोधी मोर्चाको नेतृत्व गर्दैनन् । यद्यपि आफूलाई कम्युनिस्ट र पुँजीवाद विरोधी भएको बताउने पार्टीहरुको बोलवाला छ । विश्वमा हाल ५६ वटा देशमा ११५ वटा कम्युनिस्ट र आफूलाई पुँजीवादविरोधी भन्ने पार्टीहरु संसदमा पुगेका छन् । यतिबेला विश्वमा ९ वटा देशमा समाजवादी भनिने पार्टीको सत्ता छ भने ५ वटा एक देशमा कम्युनिस्ट सत्ता छ । जसमध्ये चारवटा (चीन, लाओस, क्युबा र भियतनाम) मार्क्सवादी–लेनिनवादी विचारधाराबाट निर्देशित छ भने उत्तर कोरियाको आफ्नै जुछे विचार अवलम्बन गर्दै आएको छ ।
सोभियत संघको विघटनसँगै विश्वमा कम्युनिस्ट पार्टी र जनवादी सत्ताहरू पनि भत्किन पुगे भने कतिपय राष्ट्रमा कम्युनिस्ट आन्दोलनले सही नेतृत्व र विचारको विकास गर्न नसक्दा कम्युनिस्ट आदर्शबाट च्युत हुन पुगे । सोभियतकालीन समयमा नै कम्युनिस्ट सत्ता स्थापना भएको चीन आज विश्व राजनीतिको एक प्रमुख खेलाडीका रुपमा रहेको छ । अन्य कम्युनिस्ट देशहरू जस्तै पूर्वी जर्मनी, सोभियत युनियनलगायतका देशले शीतयुद्धका समयमा ठूलो संघर्ष गरेपनि त्यसपछि यी राष्ट्रमा साम्यवादीहरूको पकड गुम्यो ।
‘कम्युनिजम’ भन्ने सामान्य शब्दावलीले राजनीतिक र आर्थिक दुवै व्यवस्थालाई इंगित गर्छ । कम्युनिस्ट पार्टीसँग सत्ता सञ्चालनका सम्पूर्ण शक्ति र निर्वाचन प्रणाली एकदलीय हुन्छ । सोही पार्टीले नै देशको आर्थिक अवस्थालाई पनि नियन्त्रण गर्ने गर्दछ भने सम्पत्तिमाथिको व्यक्तिगत स्वामित्वलाई अवैध मान्दछ । तर कम्युनिस्ट शासन व्यवस्थाभित्रका यी आदर्शहरू आजका कम्युनिस्ट पार्टी र राष्ट्रमा करिब पाइदैनन् । यसको गतिलो उदाहरण चीन पनि हो, जहाँ सयौं अर्बपतिहरू जन्मिइसकेका छन् ।
अर्कोतर्फ समाजवादी राष्ट्रहरूमा भने सामान्यतः पार्टीहरूले बहुदलीय प्रणाली अपनाएका हुन्छन् । जहाँ साम्यवादलाई स्वीकार गरिएको हुँदैन भने व्यक्तिगत सम्पत्तिलाई स्वीकार र संरक्षण गरिएको हुन्छ ।
कम्युनिज्म अर्थात साम्यवादबारेको धारणा सन् १८४८ मा जर्मन दार्शनिक कार्ल माक्र्स र फ्रेडरिक एंगेल्सजस्ता दुई आर्थिक तथा राजनीतिक दार्शनिकहरूले ल्याएका हुन् । तर, सन् १९१७ मा रुसी क्रान्ति सम्पन्न भएपछि मात्रै विश्वमा कम्युनिस्ट राष्ट्रको रुपमा उदायो । २० औं शताब्दीको मध्यतिर आएर यसले प्रजातन्त्रको राजनीतिक र आर्थिक मार्गदर्शनलाई उछिन्ने आँकलन गर्न थालिएको थियो । तर त्यसो हुन सकेन र विश्वमा कम्युनिस्ट पार्टी, राज्य र साम्यवादीहरूले चलाएका ठूला संघर्षहरू असफल बन्न पुगे । आज आएर विश्वमा ५ वटा कम्युनिस्ट राष्ट्र रहेका छन् ।
जनवादी गणतन्त्र चीन
सन् १९२१ मा स्थापना भएको चिनियाँ कम्युनिस्ट पार्टी (सीपीसी) का अध्यक्ष माओत्से तुङ्गको नेतृत्वमा सन् १९४९ अगस्ट १ मा चीनमा नयाँ जनवादी क्रान्ति सम्पन्न भई जनवादी गणतन्त्र चीन स्थापना भयो । त्यसपछि चीन लगातार यही व्यवस्थामा रहेको छ ।
आज चीन कम्युनिस्ट सत्ता भएको विश्वकै सबैभन्दा ठूलो देश पनि हो । चिनियाँ क्रान्तिको नेतृत्व गरेका माओत्से तुङ्गको सन् १९७६ मा निधन भएपछि चीनमा देङ सियाओ पिङ्गले आर्थिक सुधारको नीति ल्याए । देङपछि चीनको नेतृत्व गरेका, ज्याङ जेमिन, हु जिन्ता ओ र सी जिनपिङले क्रमशः चीनको नेतृत्व गरिरहेका छन् ।
कम्युनिस्ट पार्टीले आफ्नो नियन्त्रण कायम गरेपछि चीनलाई ‘रेड चाइना’ अर्थात रातो चीन भनिन्थ्यो । हाल चीनको नियन्त्रणमा रहेका विभिन्न स्वशासित क्षेत्रहरूमा विभिन्न पार्टी अस्तित्वमा रहेपनि चीनमा चिनियाँ कम्युनिस्ट पार्टी एकमात्रै सत्तारुढ दल हो र यो पार्टीले मात्रै चीनमा हुने निर्वाचनमा भाग लिन्छ ।
त्यसकारण चीनको सम्पूर्ण क्षेत्रमा चिनियाँ कम्युनिस्ट पार्टीको नियन्त्रण कायम छ । हरेक पाँच वर्षमा हुने चिनियाँ कम्युनिस्ट पार्टीको महाधिवेशनले राष्ट्रका लागि नीतिहरू तर्जुमा गर्नुका साथै नेतृत्वको निर्माण गर्ने गर्दछ ।
यस्तै चिनियाँ जनकंग्रेस र यसको स्थायी समितिले त्यहाँको विधायिकी अधिकार प्रयोग गर्ने गर्दछ । जनवादी गणतन्त्र चीन स्थापनापछि त्यहाँ धेरै कडा राजनीतिक व्यवस्था थियो । सन् २००४ मा संविधान संशोधन गरेर व्यक्तिगत सम्पत्तिको अवधारणालाई मान्यता दिइएको थियो ।
क्युबा
क्युबा अमेरिकाको नाकैमुनी रहेको कम्युनिस्ट राष्ट्र हो । क्यारेबियन क्षेत्रमा पर्ने यो राष्ट्रमा सन् १९५९ मा क्रान्तिकारी नेता फिडेल क्यास्ट्रो, चे ग्वेभारा र फिडेलका भाई राहुल क्यास्ट्रोजस्ता नेताहरूको नेतृत्वमा क्रान्ति सम्पन्न भएको थियो ।
सन् १९६१ मा पूर्ण कम्युनिस्ट राष्ट्रका रुपमा स्थापना भएको क्युबाको सोभियत युनियनसँग दरिलो सम्बन्ध थियो । फिडेलको नेतृत्वमा समाजवादी अर्थतन्त्रको विकास गरेको क्युबाल सिंगो अमेरिकी क्षेत्रको एकमात्र कम्युनिस्ट राष्ट्र पनि हो । क्युबा सन् १९६१ मा कम्युनिस्ट राष्ट्र बनेपछि अमेरिकाले क्युबामाथि व्यापारिक प्रतिबन्ध लगायो ।
सन् १९९१ मा सोभियत युनियन विघटन भएपछि विश्वमा क्युबासँग व्यापारिक सम्बन्ध रहेका चीन, बोलिभिया, भेनेजुएलालगायतका राष्ट्रमाथि समेत सम्बन्ध तोड्न दबाब दिइयो । तर त्यसलाई नेता फिडेल क्यास्ट्रोले कुशल व्यवस्थापन गर्दै देशको अर्थतन्त्रमा गिरावट आउन दिएनन् । सन् २००८ मा फिडेल क्यास्ट्रोले स्वास्थ्यका कारण सत्ताबाट बाहिरिदै भाई राहुल क्यास्ट्रोलाई सत्ता सुम्पिए ।
फिडेलको सन् २०१६ मा निधन भइसकेको छ भने उनका भाई राहुल क्यास्ट्रोले मिगेल डियाज कनेललाई सत्ता हस्तान्तरण गरिसकेका छन् । तर त्यहाँ सन् २०१९ मा जारी संविधान अनुसार कम्युनिस्ट पार्टीका प्रथम सचिव राहुल क्यास्ट्रो सबैभन्दा शक्तिशाली नेता हुन् । अमेरिकाका तत्कालीन राष्ट्रपति बाराक ओबामाको कार्यकालमा क्युबासँग सम्बन्ध विस्तार भयो र कूटनीति सम्बन्ध स्थापना भयो । तर सन् २०१७ को जनवरीमा सत्ता सम्हालेका डोनाल्ड ट्रम्पले क्युबासँगको सम्बन्ध रद्द गर्दै यात्रालगायत सबै गतिविधिमा कडाई गरेका छन् ।
लाओस
लाओसलाई आधिकारिक रुपमा लाओ जनवादी गणतन्त्रका रुपमा चिनिन्छ । यो पछिल्लो समयमा कम्युनिस्ट राज्यसत्ता स्थापना गर्ने देश हो । यहाँ कम्युनिस्ट पार्टीका नेतृत्वमा सन् १९७५ मा क्रान्ति सम्पन्न भएर कम्युनिस्ट राष्ट्र बनेको हो । लाओसको क्रान्ति सम्पन्न पार्नका लागि सोभियत संघ र भियतनामले ठूलो भूमिका खेलेको बताइन्छ ।
त्यसअघिसम्म लाओसमा राजतन्त्र रहेको थियो । लाओसमा सैनिक जनरलहरूले सत्ता चलाएका हुन्छन्, जसलाई एक पार्टी प्रणालीका रुपमा रहेको माक्र्सवादी कम्युनिस्ट पार्टीको समर्थन हुन्छ । सन् १९८८ मा लाओसमा पनि व्यक्तिगत सम्पत्तिलाई मान्यता दिइएको थियो भने सन् २०१३ मा लाओस विश्व व्यापार संगठनको सदस्य भएको थियो ।
उत्तर कोरिया
उत्तर कोरिया अहिलेको विश्व राजनीतिमा सबैभन्दा धेरै चर्चामा रहने राष्ट्र हो । कोरियामा दोस्रो विश्वयुद्धसम्म जापानको नियन्त्रण कायम थियो । दोस्रो विश्वयुद्धको अन्त्यसँगै रसिया–चीनको प्रभावमा रहेको क्षेत्र उत्तर कोरिया र अमेरिकी सेनाको दबदबा कायम भएको क्षेत्र दक्षिण कोरियाको रुपमा विभाजित भए । यी दुई देशबीच सन् १९५० देखि ५३ सम्म भीषण युद्ध भयो ।
दोस्रो विश्वयुद्धपछि नै कोरियाली प्रायद्विपमा साम्यवादी र पुँजीवादी शक्तिका कारण देश नै विभाजित बन्न पुग्यो । सन् १९४८ मा दक्षिण कोरियाले स्वतन्त्र भएको र दक्षिण कोरिया सार्वभौम मुलुक भएको घोषणा गरेपछि उत्तर कोरिया कम्युनिस्ट राष्ट्रका रुपमा उदाएको हो । किम इल सुङ उत्तर कोरियाका संस्थापक नेता हुन् । उत्तर कोरियाली सरकारले साम्यवादलाई आफ्नै मौलिकतामा व्याख्या गरेको छ । उसले जुछे विचारधारालाई आफ्नो परिस्थितिअनुसार आदर्श सिद्धान्त मान्दै आएको छ ।
सन् १९५० को समयमा किम इल–सुङको नेतृत्वमा जुछे विचारधारालाई कोरियाली राष्ट्रवादसँग जोडेर विकास गरिएको हो । जुछे विचारधारा राज्यको आधिकारिक नीतिका रुपमा सन् १९७० को दशकमा आएर किम जोङ इलले विकास गरेका हुन् । उनले सन् १९९४ देखि उत्तर कोरियाको सत्ता सम्हाले भने सन् २०११ मा उनको पनि निधन भएपछि हाल उनकै छोरा किम जोङ–उन उत्तर कोरियाको सर्वोच्च नेताका रुपमा रहेका छन् ।
सन् २००९ मा साम्यवादको आधार माक्र्सवाद, लेनिनवाद हटाउनका लागि भन्दै देशको संविधानमा परिवर्तन गरिएको थियो । सोही बेला साम्यवाद शब्द समेत हटाइएको थियो ।
भियतनाम
पहिलो इन्डो–चाइना युद्दका समयमा सन् १९५४ मा विभाजित बनेर उत्तरी भियतनाम कम्युनिस्ट राज्य बन्यो र सोभियत युनियनको समर्थन ग¥यो भने दक्षिण भियतनाम प्रजातान्त्रिक अभ्यासमा लाग्दै अमेरिकाको समर्थन गर्यो । करिब दुई दशक लामो युद्धपछि भियतनाम एक भयो र सन् १९७६ मा कम्युनिस्ट राज्यका रुपमा उदायो ।
अरु कम्युनिस्ट राष्ट्रजस्तै भियतनाम पनि पछिल्ला दशकमा खुला बजार अर्थतन्त्रतर्फ अघि बनेको छ भने यसको समाजवादी राजनीतिक पद्धतिलाई पुँजीवादी दिशातर्फ लगिरहेको बताइन्छ । भियतनामको यो फड्कोसँगै अमेरिकाले सन् १९९५ मा बिल क्लिन्टनको कार्यकालमा आएर भियतनामसँग सम्बन्ध सुधार गर्दै लगेको छ ।–एजेन्सीको सहयोगमा
केशरमणि कटुवाल /शिलापत्रबाट साभार
प्रतिक्रिया