८ मंसिर २०८१, शनिबार | Sat Nov 23 2024

आज ओली समूहको संसदीय दलको बैठक बस्दै



काठमाडौं ।
प्रचण्ड–नेपाल पक्षले प्रधानमन्त्री केपी शर्मा ओलीलाई संसदीय दलको नेताबाट हटाएको भोलिपल्ट आज (शनिबार) उनीतर्फ (ओली समूह) को संसदीय दलको बैठक बस्दै छ ।

हिजो शुक्रबार प्रचण्ड–नेपाल पक्षले संसदीय दलको बैठक राखेर यसअघिका दलका नेता ओलीलाई बर्खास्त गर्दै उहाँको स्थानमा पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई चयन गरेको छ ।

प्रचण्ड–नेपाल पक्षले आफ्ना पक्षमा १११ सांसद रहेको दाबी गरेको छ । उता ओली समूहले पनि ससंदीय दलमा आफ्नै बहुमत रहेको दाबी गरिरहेको छ ।

आज बस्ने आफ्नो संसदीय दलको बैठकमा प्रधानमन्त्री ओलीले नेकपाका उपाध्यक्ष एवं राष्ट्रिय सभाका सदस्य वामदेव गौतमलाई पनि आउन आग्रह गर्नुभएको छ ।

शुक्रबार साँझ भैंसेपाटीस्थित गौतम निवास पुगेका प्रधानमन्त्री ओलीले शनिबार बस्ने संसदीय दलको बैठकमा निमन्त्रणा गर्नुभएको हो ।

प्रधानमन्त्री केपी शर्मा ओलीले गत पुस ५ गते प्रतिनिधि सभा विघटनका लागि राष्ट्रपतिलाई सिफारिस गरेलगत्तै विभाजित नेकपाका प्रचण्ड–नेपाल तथा ओली कुनै पनि समूहमा नलागी साविक नेकपाका उपाध्यक्ष गौतम पार्टी एकता अभियानमा लाग्नुभएको छ ।

प्रकाशित मिति : २२ फाल्गुन २०७७ शनिबार ००:००  ८ : ११ बजे