मायादेवी अनलाइन, तौलिहवा ।
कपिलवस्तु प्रहरीले विद्यालयमा विद्यालय प्रहरी साझेदारी कार्यक्रमको नयाँ पाठ्यक्रम शुरु गरेको छ । विद्यालय स्तरमा हुने हिंसा, दुव्र्यवहार र अपराधका गतिविधि रोकथाममा कपिलवस्तु प्रहरीले विद्यालय प्रहरी साझेदारी कार्यक्रम अन्तरगत नयाँ पाठ्यक्रम तयार गरेको हो । जिल्ला प्रहरी कार्यालय कपिलवस्तुले कपिलवस्तु नगरपालिकाबाट विद्यालय प्रहरी साझेदारीको उद्धेश्यका साथ विद्यालयका विद्यार्थी लक्षित पाठ्यक्रम तयार पारेको हो ।
जिल्ला भरीनै लागुहुने गरी पहिलो पटक शुरु गरिएको उक्त कार्यक्रम अन्तरगत तयार पारिएको उक्त पाठ्यक्रम विद्यालयका प्रद्यानाध्यापकहरुलाई वितरण गरिएको छ । जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका प्रमुख प्रहरी उपरिक्षक नवराज अधिकारी, कपिलवस्तु नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत शेषकान्त पौडेल र सम्वन्धित विद्यालयका प्रद्यानाध्यापक बिच पाठ्यक्रम लागु गर्नेबारे समझदारी पत्रमा हस्ताक्षर गरिएको छ ।
तयार पारिएको पाठ्यक्रममा लागु औषध दुव्र्यसनी, धुम्रपान, मद्यपान र मादक पदार्थ सेवन, साईबर अपराध, सामाजिक सञ्जालको सुरक्षित प्रयोग, बाल विवाह, बोक्सी आरोप, दाईजो प्रथा, बाल बालिका बिरुद्ध हुने अपराधहरु र लैगिंक हिंसाको प्रतिबादका बिषय समेटिएको छ ।
प्रहरीले तयार पारेको पाठ्य सामाग्रीले विद्यार्थीलाई प्रबिधीको प्रयोग संगै अन्य कारणबाट हुने अपराध, लागु पदार्थको दुव्र्यसनी र अन्य सामाजिक अपराधबारे समयमै सचेत गराउन सकिने बातावरण बन्ने कनकमुनी मा. वि. कपिलवस्तु प्रद्यानाध्यापक अफाक अहमद खाँले बताउनुभयो ।
पछिल्लो समय विद्यालयका किशोर किशोरी नै विभिन्न हिंसा र कुलतमा परेकाले समाजमा अपराध न्युनिकरण गर्ने उद्देश्यका साथमा विद्यालयका लागी उपयोगी पाठ्यक्रम निर्माण गरिएको कपिलवस्तुका प्रहरी उपरिक्षक नवराज अधिकारीले जानकारी दिनुभयो ।
कार्यक्रमका प्रमुख अतिथी निमित्त प्रमुख जिल्ला अधिकारी गणेश नेपालीले कार्यक्रम नयाँ भएकाले विद्यालयमा राम्रो प्रभाव पर्ने बताउदै विद्यार्थीलाई नैतिक शिक्षा दिन जरुरी भएकोे बताउनुभयो । सोही कार्यक्रममा नेपाल पत्रकार महासंघका जिल्ला अध्यक्ष डिलाराम भुसाल, शिक्षा विकास तथा समन्वय समितिका प्रमुख थानेश्वर घिमिरे, माहुरी होमका अध्यक्ष रवि ठाकुर लगाएतले बालबालिकाहरु धेरै कुलतमा लागेकाले उनीहरुको संरक्षणमा अभिभावक, शिक्षक र सरोकारवाला चनाखो हुनुपर्ने बताएका थिए ।
प्रतिक्रिया