८ मंसिर २०८१, शनिबार | Sat Nov 23 2024

बाघको छाला ओसारपसारमा संलग्न दुई जना सार्वजनिक



दाङ ।
जिल्ला प्रहरी कार्यालय दाङले बाघको छाला ओसारपसारमा संलग्न दुई जनालाई पक्राउ गरी सार्वजनिक गरेको छ ।

बुधवार पत्रकार सम्मेलन गरी जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी प्रमुख तथा प्रहरी उपरीक्षक (एसपी) गणेश चन्दले बाघको छाला ओसारपसार गरी बिक्री भइरहेको भन्ने सूचनाको आधारमा खटिएको प्रहरी टोलीले तुलसीपुर उपमहानगरपालिका ४ गोठी खोलाबाट दुई जनालाई पक्राउ गरेको जानकारी दिनुभयो ।

पक्राउ पर्नेमा सल्यानको बागचौर नगरपालिका ९ का २९ वर्षीय सन्दीप डाँगी र त्यही पालिकाको वडा नम्बर १५ का ३७ वर्षीय इन्द्रबहादुर थापा विक रहेका छन् । उनीहरूको साथबाट प्रहरीले बाघको टाउकोदेखि पुच्छरसम्मको चार फिट पाँच इञ्च लम्बाइको छाला बरामद गरेको छ ।

यस्तै, दुवै जना सवार रा ४ प ८८४७ नम्बरको मोटरसाइकल र तीन थान मोबाइल पनि बरामद गरी सार्वजनिक गरिएको छ ।

एसपी चन्दका अनुसार त्यो छाला १० लाखमा कारोबार भइरहेको थियो । पक्राउ परेका दुवै जनामाथि वन्यजन्तु मारेर ओसारपसारमा संलग्न भएको अभियोगमा मुद्दा दायर गरी थप अनुसन्धानका लागि जिल्ला वन कार्यालय पठाइएको प्रहरी उपरीक्षक चन्दले बताउनुभयो ।

प्रकाशित मिति : १२ फाल्गुन २०७७ बुधबार ००:००  ७ : ०५ बजे