मायादेवी अनलाइन, चारनम्बर ।
सर्वोच्च अदालतले प्रधानमन्त्री केपी शर्मा ओलीले गरेको संसद विघटनलाई बदर गरेपछि त्यसको खुशीयालीमा कपिलवस्तुमा दीप प्रज्ज्वलन गरी स्वागत गरिएको छ । जिल्लाको चार नम्बर जीतपुरमा नेकपा, नेपाली कांग्रेस, नेकपा (मसाल) लगायतका दलले सर्वोच्चको फैसलालाई मंगलबार साँझ स्वागत गरेका हुन् ।
सर्वोच्चको निर्णय लगत्तै जुटेका विभिन्न शिर्ष नेताहरुले अदालतको फैसलालाई स्वागतसंगै अझै शंका व्यक्त गरेका छन् ।
नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का स्थायी कमिटी सदस्य तथा प्रतिनिधिसभा सदस्य चक्रपाणी खनालले सर्वोच्चको फैसला नेपाली जनताको पक्षमा आएको प्रतिक्रिया दिनुभयो । ७ सालको राणा, १७ सालको राजा महेन्द्रको कदम, ३६ सालको आन्दोलन, ०४६/०४७ सालको जनआन्दोलन, १० बर्षे जनयुद्ध, ०६२/०६३ सालको जनआन्दोलनमा नेपाली जनता कहिल्यै नहारेको स्मरण गर्दै अहिलेको शासकलाई पनि नेपाली जनताले हराएको बताउनुभयो । सर्वोच्चले न्यायको पक्षको फैसला गरेपनि केपी शर्मा ओलीले आगामी दिनमा चाल्न सक्ने कदमबारे होसियार बन्नुपर्ने बताउनुभयो ।
नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा प्रतिनिधिसभा सदस्य अतहर कमाल मुसलमानले संसद पुनस्थापनालाई पार्टीले स्वागत गरेको बताउनुभयो । प्रधानमन्त्रीबाट संविधान च्यात्ने काम भएपनि त्यसलाई सर्वोच्चले रोकेको भन्दै अब ओली युगको अन्त्यका लागि सबै राजनीतिक शक्ती एक हुनुपर्ने बताउनुभयो । अदालतले कानुन अनुसार फैसला गरेपनि निर्वाचन आयोगले नेकपा विवादलाई चाँडै नटुङ्ग्याएको भन्दै आक्रोस पोख्नुभयो । कानुन अनुसार नेकपा पार्टी प्रचण्ड–नेपालले पाउनुपर्ने भएपनि ओलीको डरले आयोगले निर्णय लिन नसकेको बताउनुभयो । संबैधानिक आयोगले निरिहता प्रस्तुत गरेको भन्दै अब त्यस्ता व्यक्तिलाई महाअभियोग लगाएर हटाउनुपर्ने बताउनुभयो ।
नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का केन्द्रीय सदस्य डोर प्रसाद उपाध्यायले देशमा सन्की शासक रहेको भन्दै अझै १३ दिन न्यायको पक्षमा संघर्ष जारी राख्नुपर्ने बताउनुभयो । सर्वोच्चले संविधान अनुसार फैसला गर्नु स्वागतयोग्य कदम भएपनि प्रधानमन्त्री सन्की भएकाले उनले चाल्ने अरु कदमबारे होसियारी अपनाउनुपर्ने बताउनुभयो । आज दिनभर ओलीले चालेका गतिविधि राम्रो नभएको भन्दै नैतिकता भए राजीनामा दिएर मार्ग प्रशस्त गर्न सुझाव दिनुभयो ।
अनेरास्ववियूका जिल्ला संयोजक दिपक अनुरागीको सञ्चालनमा भएको कार्यक्रममा नेकपा (मसाल) का जिल्ला प्रवक्ता छविलाल गैरे, नेपाली कांग्रेसका वाणगंगा नगर सभापति विष्णु थापाले बोल्दै सर्वोच्च अदालतले गरेको फैसलालाई स्वागत गर्दै प्रतिगमनले हार खाएको बताउनुभएको थियो ।
प्रतिक्रिया