८ मंसिर २०८१, शनिबार | Sat Nov 23 2024

केही नभएर कम्युनिष्ट आन्दोलनमा लागेका थिएनौं : चक्रपाणी खनाल



मायादेवी अनलाइन, चारनम्बर ।
नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का स्थायी कमिटी सदस्य तथा प्रतिनिधिसभा सदस्य चक्रपाणी खनाल ‘बलदेव’ले बर्गीय मुक्तिको लागि भनेरै कम्युनिष्ट आन्दोलनमा लागेको बताउनुभएको छ ।

समाजका शोषित, दमनमा परेका उत्पीडित जनताको न्यायका लागि कम्युनिष्ट आन्दोलनमा लागेको स्मरण गर्दै नेता खनालले केही पाइन्छ र खाउँला भन्ने आशा कहिल्यै नराखेको जिकिर गर्नुभयो ।

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) लुम्बिनी प्रदेश जेष्ठ कम्युनिष्ट मञ्चका सदस्य स्वर्गीय चाम बहादुर सुनारको १३ औं दिनको पुग्य तिथिको अवसर पारेर नेकपा जिल्ला कमिटी कपिलवस्तुले मंगलबार राखेको शोक सभामा बोल्दै पूर्व मन्त्री समेत रहनुभएका नेता खनालले कम्युनिष्ट आन्दोलनको उपलब्धी र भविष्यबारे चर्चा गर्नुभयो ।

घरमा खान लाउन प्रशस्तै पुग्दा पनि जनताको मुक्तिका लागि कम्युनिष्ट आन्दोलनमा होमिएको स्मरण गर्दै स्वर्गीय सुनारले बर्गीय मुक्तीको आन्दोलनमा खेलेको भूमिकाको प्रशंसा गर्नुभयो । प्रभासमा रोजगारीको शिलशिलामा रहदा पनि कम्युनिष्ट आन्दोलनमा सक्रिय भूमिका खेल्नुभएका स्वर्गीय नेता सुनारको निधनले पार्टीलाई अपुरणीय क्षति पुगेको बताउनुभयो ।

बर्गीय मुक्तीको लागि जीवनका झण्डै चार दशक लाग्नुभएका उहाँले देखेका सपना अब पूरा गर्ने बेला आएको बताउनुभयो । नेपाली जनताले निकै भरोसा गरेर नेकपालाई झण्डै दुई तिहाई मत दिए पनि प्रधानमन्त्री केपी शर्मा ओलीका कारण जनताबीच माफी माग्नु परेको बताउनुभयो । ओलीले पार्टी र सिंगो कम्युनिष्ट आन्दोलनलाई समाप्त पार्न खोजेपनि त्यसलाई सबै मिलेर बचाउने विश्वास व्यक्त गर्नुभयो ।

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का कपिलवस्तु अध्यक्ष तथा लुम्बिनी प्रदेश सांसद विष्णु पन्थीले स्वर्गीय चाम बहादुर सुनारले देखेका सपना आफुहरु रहेको पार्टीले पूरा गर्ने विश्वास व्यक्त गर्नुभयो । पार्टी भित्र गम्भीर समस्या देखिदा सिंगो नेपाली जनतामा निरासा छाएपनि त्यसलाई आशामा परिणत गर्न आफुहरु लागिपरेको बताउनुभयो । केपी ओलीले व्यक्तिगत सनक र लहडको भरमा दुई तिहाई मतलाई अपमान गरेको कारण पार्टीभित्र समस्या आएको बताउनुभयो ।

हजारौं नेता तथा कार्यकर्ताले त्याग, तपस्या र बलिदानले कम्युनिष्ट पार्टी बनेको भन्दै केही व्यक्तिले प्रतिगमन चाल्दैमा केही नहुने बताउनुभयो ।

नेकपाका जिल्ला सचिव रामचन्द्र शाह ‘विष्णु’को सञ्चालनमा भएको कार्यक्रममा बामपन्थी नेता जेवि रसाइली लगायतले बोल्दै स्वर्गीय सुनारले कम्युनिष्ट आन्दोलनमा पु¥याएको योगदानको चर्चा गर्नुभएको थियो ।

प्रकाशित मिति : ११ फाल्गुन २०७७ मंगलबार ००:००  ११ : १२ बजे