परासी ।
स्वास्थ्यमन्त्री हृदयेश त्रिपाठीले आगामी चुनावमा आफ्नै दल गठन गरेर उम्मेदवारी दिने घोषणा गर्नुभएको छ ।
गृह जिल्ला पश्चिम नवलपरासीको प्रतापपुरस्थित कठहवा गाउँको निवासमा पत्रकारहरुसँग सोमबार कुरा गर्दै मन्त्री त्रिपाठीले फागुनभित्र दल गठन भइसक्ने बताउनुभयो । मन्त्री त्रिपाठी स्वतन्त्र राजनीतिक समूहको नाउँबाट तत्कालीन एमालेको सूर्य चुनाव चिन्ह लिएर पश्चिम नवलपरासी निर्वाचन क्षेत्र नं. १ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित हुनुभएको हो ।
नयाँ पार्टीको नाम स्वतन्त्र राजनीतिक समूहलाई नै रुपान्तरण गरेर गठन गर्ने उहाँको भनाइ छ । आफ्नो पार्टीमा विघटित प्रतिनिधिसभाका केही सांसद् र तत्कालीन तमलोपाका अधिकांश नेताहरु आउने तरखरमा रहेको उहाँले दाबी गर्नुभयो ।
तमलोपा ब्युँताउन लागेको भन्ने टिप्पणीबारे उहाँले दुष्प्रचार मात्र भएको प्रतिक्रिया दिनुभयो । नयाँ दलको गठन गर्नुपर्ने आवस्यकता बारे उहाँले वर्गीय आधारलाई अन्य दलले समेट्न नसकेकाले त्यसैको प्रतिनिधित्वलाई समेट्ने बताउनुभयो ।
बैशाखमा चुनाव हुने नहुने भन्नेबारे सर्वोच्चको फैसला र निर्वाचन आयोगमा नेकपाको आधिकारिकता निष्कर्षपछि टुंगो लाग्ने पनि मन्त्री त्रिपाठीको भनाइ थियो ।
चुनावअघि दल दर्ता नभए फेरि सूर्य चिन्ह वा नेकपाको कुनै समूहको चिन्ह लिएर चुनाव लड्नु हुन्छ भन्ने पत्रकारको जवाफमा मन्त्री त्रिपाठीले भन्नुभयो‘सूर्य त आफैँ फ्रिज हुन्छ कि कता जान्छ भन्नेमा नेकपाकै नेताहरुले बुझेका छैनन् ।
तत्कालीन अवस्थामा आफ्नै पार्टीबाट धोखा खाएर वाध्यतावश तत्कालीन एमालेसँग २ बुँदे सहमति गरेर चुनावी तालमेल गरेका हौँ । अब आफ्नै दल गठन गरेर नयाँ मूल्य मान्यताका साथ चुनाव लड्छौँ । ’ मन्त्री त्रिपाठीले भन्नुभयो ।
प्रतिक्रिया