मायादेवी अनलाइन, वाणगंगा ।
कपिलवस्तुको सिद्धार्थ क्याम्पस बाणगङ्गाका विद्यार्थीहरु बीच अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ । स्नातक तहका व्यवस्थापन, शिक्षा र मानविकी सङ्कायमा अध्ययन गर्न प्रवेश परीक्षा उत्तीर्ण गरी आएका करिव ३ सय नव–आगन्तुक विद्यार्थीहरुको सहभागितामा कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रममा क्याम्पसमा सञ्चालित शैक्षिक कार्यक्रम, अध्यापन हुने विषय, क्याम्पसले प्रदान गर्ने सेवा सुविधा, विद्यार्थीको उत्तरदायित्व लगायतका विषयवस्तुमा विद्यार्थीहरुलाई अभिमुखीकरण गरिएको थियो ।
कार्यक्रमलाई सम्वोधन गर्दैै क्याम्पस सञ्चालक समिति अध्यक्ष झविलाल पोख्रेल, उपाध्यक्ष रविबहादुर काफ्ले, क्याम्पस प्रमुख खेमराज शर्मा, सहायक क्याम्पस प्रमुखहरु बेदराम अर्याल र गोविन्द प्रसाद खनालले क्याम्पसले आफ्नो गुणस्तर प्रमाणीकरण गराएर अन्तर्राष्ट्रिय मापदण्ड अनुरुपको ‘गुणस्तर सुनिश्चितता तथा प्रत्यायन’ (क्यू.ए.ए.) प्रमाणपत्र समेत प्राप्त गरेको हुँदा अब क्याम्पसले अन्तर्राष्ट्रिय स्तरको सेवा सुविधासहित उच्च गुणस्तरिय शिक्षा प्रदान गर्ने बताउनु भयो ।
सिद्धार्थ क्याम्पस गुणस्तरमा अब्बल सावित हुँदै राष्ट्रिय स्तरमै उत्कृष्ट नतिजा हासिल गरेर जिल्लाकै शैक्षिक धरोहरको रुपमा स्थापित भएकोले सफल विद्यार्थीको उत्कृष्ट गन्तव्य बनेको जिकीर गर्दै क्याम्पसलाई आफ्नो रोजाइमा पारेर अध्ययनको लागि आउने सम्पूर्ण विद्यार्थीहरुको शैक्षिक भविष्य उज्ज्वल हुने दाबी समेत उहाँहरुले गर्नुभयो ।
कार्यक्रममा प्राध्यापकहरु राजकुमार अर्याल, रमेशचन्द्र भुसाल, दिलु श्रेष्ठ, रमेश पौडेल लगायतले क्याम्पस रहेका विभिन्न विभाग, एकाइ तथा शाखाबाट प्रदान गरिने सेवा सुविधा एवं गतिविधिको बारेमा अभिमुखीकरण गर्नु भएको थियो । कार्यक्रममा स्ववियु सभापति सुशील खत्रीले विद्यार्थीको हकहितका लागि सदैव अग्रसर रहने बताउँदै क्याम्पसमा केही समस्या आइपरेमा स्ववियु कार्यालयमा सम्पर्क गर्न सम्पूर्ण नवआगन्तुक विद्यार्थीहरुलाई आग्रह गर्नुभयो ।
कार्यक्रममा सहभागि विद्यार्थीहरुले आफ्नै घरमा बसेर अन्तर्राष्ट्रिय स्तरको क्याम्पसमा अध्ययन गर्र्ने अवसर पाएकोमा आफुहरु निकै उत्साहित भएको बताएका थिए । वि.स. २०४८ सालमा समुदाय स्तरबाट स्थापित यो क्याम्पस यसै वर्ष विश्वविद्यालय अनुदान आयोगबाट ‘गुणस्तर सुनिश्चितता तथा प्रत्यायन’ (क्यू.ए.ए.) प्रमाणपत्र प्राप्त गर्न सफल भएको छ ।
यस क्याम्पसमा हाल त्रिभुवन विश्वविद्यालयका स्नातक तथा स्नातकोत्तर तहका व्यवस्थापन, शिक्षा तथा मानविकी सङ्कायका शैक्षिक कार्यक्रमहरु अंग्रेजी तथा नेपाली दुवै माध्यममा सञ्चालित छन् ।
प्रतिक्रिया