मायादेवी अनलाइन, तौलिहवा ।
कपिलवस्तुका ५ राजनीतिक पार्टीले सोमबार जिल्ला सदरमुकाम तौलिहवामा बृहत अन्तरक्रिया कार्यक्रम राखेका छन् ।
संसद विघटन विरुद्ध आयोजित अन्तरक्रिया कार्यक्रममा नेपाल कम्युनिष्ट पार्टी (नेकपा), नेपाली कांग्रेस, जनता समाजबादी पार्टी, राष्ट्रिय जनमोर्चा र नेकपा (मसाल) का केन्द्रीय देखि जिल्लास्तरका नेताहरुको उपस्थिति रहेको थियो ।
राष्ट्रिय जनमोर्चाका जिल्ला अध्यक्ष दधिराम आचार्यको अध्यक्षतामा भएको अन्तरक्रिया कार्यक्रममा बोल्दै नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का स्थायी कमिटी सदस्य तथा पूर्वमन्त्री चक्रपाणी खनाल ‘बलदेव’ ले प्रतिगमन विरुद्ध जिल्लामा संयुक्त मोर्चा बनाएर अगाडी बढ्नुपर्नेमा जोड दिनुभयो । जिल्लाका ५ दलबाट प्रतिगमन विरुद्ध आयोजित अन्तरक्रिया कार्यक्रमले राष्ट्रिय रुपमा राम्रो सन्देश दिएको भन्दै अब संयुक्त मोर्चा बनाएर अगाडी बढ्नुपर्ने बताउनुभयो ।
संसद विघटनलाई विभिन्न राजनीति दलले आ-आफ्नो तरिकाले आन्दोलन गर्दै आएपनि जिल्लामा संयुक्त मोर्चा बनाएर, नभए पार्टीबाट बक्ता पठाएर, नभए सबै पार्टीका जनतालाई एकै ठाउँ राखेर भएपनि आन्दोलन गर्न सकिने बताउनुभयो ।
नेपाली कांग्रेसका नेता तथा पूर्व भारतका लागि नेपाली राजदूत दीपकुमार उपाध्यायले नहुने चुनावको आशा गर्न नहुने बताउनुभयो । कांग्रेसको केन्द्रीय समितिको बैठकले प्रधानमन्त्री ओलीले चालेको कदम असंबैधानिक भनि सकेको भन्दै यस विषयमा सबै प्रष्ट हुनुपर्ने बताउनुभयो । तथापि केन्द्रले अरु दलसंग मिलेर आन्दोलन गर्न नभनेको बताउनुभयो । तरपनि असंबैधानिक तवरले गरिएको संसद विघटन विरुद्ध सबै दलहरु एक हुनुपर्ने बताउनुभयो ।
संसद विघटनको मुद्धा सर्वोच्च अदालतबाट सदर भयो भने संविधानको अन्त्य त्यही दिनबाट हुने उहाँले जिकिर गर्नुभयो । संविधानले बहुमतको प्रधानमन्त्रीलाई संसद विघटनको अधिकार नदिएको उहाँले प्रष्ट पार्नुभयो ।
जनता समाजबादी पार्टीका नेता तथा पूर्व मन्त्री दानबहादुर चौधरीले देश विगार्ने कोही नभएर सिंहदरबार भित्र रहेका भएको टिप्पणी गर्नुभयो । धेरैले देश विगार्ने सरकारी कर्मचारी, विभिन्न पार्टी, नागरिक समाज रहेको आरोप लगाउने गरेको भन्दै यी नभएर देश विगार्ने सिंहदरबार भित्र रहेका भएको नेता चौधरीले बताउनुभयो ।
संविधान बनाउने बेला आफुहरुले विमती रहेको उल्लेख गर्दै अहिले प्रधानमन्त्रीले चालेको कदम निरङ्कुशताको पराकाष्ट भएको उहाँले बताउनुभयो । संविधान भित्र आफुहरुका थुप्रै असहमति रहेपनि अहिले प्रतिगमन विरुद्ध सबै शक्ती एक भएर अगाडी बढ्नुको विकल्प नभएको बताउनुभयो ।
राष्ट्रिय जनमोर्चाका केन्द्रीय सदस्य मनोज भट्टले प्रधानमन्त्रीलाई मन नपर्दा संसद विघटन गर्ने अधिकार नभएको बताउनुभयो । विश्वमा ६ सय बर्ष संसदीय अभ्यास भएको चर्चा गर्दै नेपालमा जस्तो विश्वका कुनैपनि देशमा नभएको बताउनुभयो । राजनीति अस्थिरता अन्त्य गर्नका लागि सरकार बनेको दुई बर्षसम्म अविश्वासको प्रस्ताव हाल्न नमिल्ने, पुनः एक बर्ष अविश्स्वासको प्रस्ताव हाले अर्को एक बर्षसम्म हाल्न नपाउने गरी संसदीय अध्यासको नौलो प्रयोग संविधानमा गरिएपनि अहिले प्रधानमन्त्री ओलीले संविधान विपरित संसद विघटन गरेको बताउनुभयो ।
नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का जिल्ला सचिव रामचन्द्र शाह ‘विष्णु’को सञ्चालनमा भएको अन्तरक्रिया कार्यक्रममा जसपाका केन्द्रीय सदस्य नारायण खनाल, नेपाली कांग्रेसका जिल्ला सचिव महेन्द्र पाठक, जसपा लुम्बिनी प्रदेशका वरिष्ठ उपाध्यक्ष रसिद खाँ, जिल्ला अध्यक्ष कैलाश अग्रहरी, नेकपा (मसाल) का प्रवक्ता छविलाल गैरे लगायतले बोल्दै प्रतिगमन विरुद्ध एक भएर लाग्नुपर्नेमा जोड दिनुभएको थियो ।
प्रतिक्रिया