मायादेवी अनलाइन, चारनम्बर ।
कपिलवस्तुको बाणगंगा नगरपालिकामा जारी ‘प्रथम सुर्योदय खुला नकआउट फुटवल’ मा आइतबार अयोजक सूर्योदय युवा क्लवले सानदार जित हासिल गरेको छ । सिद्धार्थ रंगशाला बुङचीमा भएको प्रतिस्पर्धात्मक खेलमा रुपन्देहीको बासगढीस्थित बुद्धभूमि फुटवल एकेडेमीमाथि सूर्योदयले ३–० को सानदार जित हासिल गरेको हो ।
पहिलो हाफमा दुवैतर्फबाट कुनै पनि गोल हुन नसके पनि दोश्रो हाफमा भने सूर्योदय बुद्धभूमिमाथि हावी भयो । उसका लागि सवि गुरुङ, सन्दिप थारु र अरुण थारुले एकएक गोल गरेका थिए । दोश्रो हाफको मध्यान्तरतिर आयोजकले २ मिनेटको अन्तरमै २ गोल गरेको थियो भने खेलको अन्त्यतिर थप एक गोल गरेको थियो ।
टिमलाई जित दिलाउन उत्कृष्ट खेल पस्केका सवि आजको खेलमा म्यान अफ दि म्याच घोषित भए । तुलनात्मक रुपमा कमजोर देखिएको बुद्धभूमिले केही गोल गर्ने प्रयास गरे पनि नतिजा दिन नसक्दा निरास भएर घर फर्कन बाध्य भयो । विपक्षीका पटकपटकका प्रहार बूद्धभूमिका गोल किपर संजय तामाङले सानदार बचाउ गर्दा पाहुना टोली लज्जसपद हार खानबाट भने जोगियो । सूर्योदयका २ प्रहार गोलपोष्टमा लागेर बाहिरिएका थिए ।
प्रतियोगिता अन्तर्गत भोली एक खेल हुने छ । दिउसो ३ बजे सुरु हुने खेलमा कोब्रा गाइज कपिलवस्तु र फर्साटिकर फुटवल क्लव रुपन्देहीबीच खेल हुने आयोजक सूर्योदय सामाजिक विकास संस्थाका अध्यक्ष सरोज सेनले जानकारी दिनुभयो ।
प्रतियोगिताको विजेता टोलील नगद १ लाख १ हजार १ सय ११, उपविजेता टिमले ५५ हजार ५ सय ५५ रुपैयासहित शिल्ड मेडल र प्रमाण पत्र पाउने छन् भने विधागततर्फ सर्वोत्कृष्ट खेलाडी, सर्वाधिक गोलकर्ता, उत्कृष्ट फरवार्ड, उत्कृष्ट डिफेण्डर, अनुशाषित लगायतका खेलाडीलाई पनि सम्मान गरिने खेल संयोजक रमेश मल्लले जानकारी दिनुभयो ।खेलको गोल नेपाल डट कमले लाइभ गरिरहेको छ ।
प्रतिक्रिया