८ मंसिर २०८१, शनिबार | Sun Nov 24 2024

बुटवलबाट नुवाकोट सञ्चालन हुन थालेको सिद्धार्थ केबलकारको शिलान्यास



बुटवल ।
बुटवलबाट नुवाकोट सञ्चालन गर्न लागिएको केबलकारको अर्थमन्त्री विष्णुप्रसाद पौडेलले शिलन्यास गरेका छन् । आइतबार बुटवल मावि माथि देउराली डाँडामा आयोजित कार्यक्रममा मन्त्री पौडेलले केबलकारको शिलन्यास गरेका हुन् । ऐतिहासिक तथा धार्मिक स्थल नुवाकोट गढीमा सिद्धार्थ केबलकार प्रालिले केबलकार सञ्चालनको प्रक्रिया अघि बढाएको हो ।

प्रालीले यस अघि नै सरकारबाट बन क्षेत्र उपयोग गर्ने स्वीकृती लिएर केही काम अगाडि बढाइसकेको छ । अबको १८ महिना भित्र केबलकार सञ्चालनमा ल्याउने योजना रहेको सिद्धार्थ केबलकार प्रालिका अध्यक्ष राजेन्द्रसिंह गुरुङले जानकारी दिए ।

२ किलोमिटर लम्बाइको केबलकार निर्माण गर्न ८० करोडको लागत अनुमान गरिएको उनले बताए । सिद्धार्थ केबलकार प्रालीमा यस ५० जनाको लगानी रहेको छ ।

सिद्धार्थ केबलकार प्रालिले २०६८ सालमा केबलकार निर्माणको अभियान अगाडि बढाएको थियो । केबलकार सञ्चालनको लागि २०७५ साल साउनमा ३ दशमलव ९८ हेक्टर र २०७६ फागुनमा २ दसमलब ११८ हेक्टर बन क्षेत्र ३० वर्षको लागि प्रालीलाई भोगचलान गर्न मन्त्रीपरिषद बैठकले स्वीकृती दिएको थियो ।

निर्माण पछि केबलकारमा २५ वटा डब्बा रहने र बुटवलको देउराली डाँडाबाट नुवाकोट ८ मिनेटमा पुग्न सकिने अध्यक्ष गुरुङले जानकारी दिए । सञ्चालनमा आएपछि दैनिक पर्यटकले केबलकारको उपयोग गर्ने प्रालीको अपेक्षा छ ।

प्रकाशित मिति : ९ फाल्गुन २०७७ आइतबार ००:००  ५ : ३० बजे