८ मंसिर २०८१, शनिबार | Sat Nov 23 2024

ओलीमा मैमत्ता प्रवृति हाबी छः माधव नेपाल



रुपन्देही ।

नेकपा अध्यक्ष तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले पन्ध्र वर्षअघि लोकतन्त्रको आन्दोलनमा सहभागी नभएका प्रधानमन्त्री केपी शर्मा ओलीको वैशाखमा चुनाव हुने भविष्यवाणी विफल हुने बताएका छन् ।

बिहीबार प्रतिनिधिसभा विघटनविरुद्ध बुटवलमा आयोजित सभामा नेपालले ओलीले समयको गति बुझ्न नसक्ने व्यक्ति भएकाले समयको पछिपछि लतारिने आरोप लगाए ।

‘केपी ओलीले न्यायपूर्ण आन्दोलनको अगुवा गर्नु भएको छैन,’ नेपालले भने, ‘पछाडि बसेर अरुको बदख्वाँई गर्ने बानी परेको छ ।’ आफूहरुले राम्रो काम गर्नुस्, कम बोल्नु भनेको ओलीले नमानेको उनले बताए । ‘खालि बकबक गर्नुु हुन्छ,’ उनले भने, ‘उहाँलाई रिस उठ्योः पत्रकार, वकिललाई गाली गर्‍यो ।’ ओलीले आफ्नै मन्त्रीलाई समेत गाली गर्दै आएको र त्यसको एकभारि फेहरिस्त आफूसित रहेको नेपालले दाबी गरे ।

‘केपी ओलीले अगतिला कुरा मात्र बोल्न जान्नु भएको छ,’ उनले भने, ‘जहिल्यै अगाडि बढ्ने कुराको विरोध गर्नु भएको छ ।’ उनले ओलीले राम्रो संस्कार सिक्न जरुरी रहेको बताए । ‘ओलीमा मैमत्ता प्रवृति हाबी छ,’ उनले भने, ‘यही प्रवृत्तिलाई निरंकुशता भनिन्छ ।’ ओली समर्थकलाई लक्षित गरेर उनले भने,‘ओलीको जालझेलमा परेका साथीहरु मूल पार्टीमा आउनुस्, तपाईंहरुलाई स्वागत छ ।’ निर्वाचन आयोगले पनि बहुमत केन्द्रीय सदस्य रहेको पार्टी नै मूल हुने बताइसकेकाले भ्रममा नपर्न नेपालले आग्रह गरे ।

प्रकाशित मिति : १५ माघ २०७७ बिहिबार ००:००  ५ : ०७ बजे