८ मंसिर २०८१, शनिबार | Sat Nov 23 2024

कांग्रेस केन्द्रीय समिति बैठक आजः दबाबमा परेका देउवाले ओलीविरुद्ध थप्लान् आन्दोलन ?



काठमाण्डौँ ।

नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक आज बस्दैछ। पार्टी केन्द्रीय कार्यालय सानेपामा मंगलबार बस्ने बैठकमा मुख्यगरी प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधि सभा विघटन गरेको विरोधमा तेस्रो चरणमा आन्दोलनका कार्यक्रम घोषणा गर्ने विषयमा छलफल हुने नेताहरूले बताएका छन्।

यससँगै कांग्रेसको १४ औं महाधिवेशनबारे पनि छलफल हुनेछ।कांग्रेसले फागुनमा महाधिवेशन तोके पनि त्यसअनुसार तयारी गरेको छैन। क्रियाशील सदस्यता वितरण तथा नवीकरणको काम अर्घाखाँची जिल्लाले मात्रै सकेको छ अरू जिल्लामा जारी छ।

सिन्धुपाल्चोकलगायत केही जिल्लामा समायोजनका काम नै सकिएका छैनन्। त्यहाँ क्रियाशील सदस्यताका काम पनि बाँकी नै छ।यस्तै प्रदेशहरूमा पार्टी सरकारमा जाने वा नजाने भन्ने पनि केन्द्रीय समितिमा छलफलको विषय छ।

बागमती प्रदेश र प्रदेश नम्बर १ मा नेकपाका प्रचण्ड(नेपाल पक्षले मुख्यमन्त्रीहरूविरूद्ध अविश्वास प्रस्ताव दर्ता गरेका छन्।

केन्द्रीय समिति बैठक बस्नुअघि वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षका केन्द्रीय सदस्यहरू महामन्त्री शशांक कोइरालाको निवासमा सोमबार छलफलमा जुटेका थिए।


उक्त छलफलपछि सेतोपाटीसँग कुराकानी गर्दै केन्द्रीय सदस्य चन्द्र भण्डारीले आन्दोलन र महाधिवेशन सँगसँगै लैजान सकिने विषयमा छलफल केन्द्रीत रहेको बताएका छन्।

प्रधानमन्त्री ओलीले पुस ५ मा प्रतिनिधि सभा विघटन गर्नुलाई असंवैधानिक र अलोकतान्त्रिक ठहर गरेको कांग्रेसले सम्भवत आज सरकारविरूद्ध आन्दोलनका कार्यक्रम तय गर्नेछ।

यसअघि वडादेखि केन्द्रसम्म कांग्रेसले आन्दोलन अन्तर्गत प्रदर्शन र विरोध गरेको थियो। वरिष्ठ नेता पौडेल आन्दोलनमा जानुपर्नेमा छन्।

प्रकाशित मिति : १३ माघ २०७७ मंगलबार ००:००  ८ : ४८ बजे