गुल्मी ।
परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले जिल्ला प्रशासन कार्यालय गुल्मीबाट राष्ट्रिय परिचय पत्र प्राप्त गरेका छन् । मन्त्री ज्ञवालीले २०७६ साल साउन ३२ गते जिल्ला प्रशासन कार्यालय गुल्मीमा आफ्नो विवरण दर्ता गराएका थिए ।
प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्माले ज्ञवालीलाई एक कार्यक्रम आयोजना गरी राष्ट्रिय परिचयपत्र उपलब्ध गराएकी हुन् । मन्त्री ज्ञवालीले पनि जिल्ला प्रशासन कार्यालयका प्रशासकीय अधिकृत उद्धव पन्थी, रेसुङगा नगरपालिकाका वडा नम्बर १ की बिष्णुमाया पाण्डे र वडा नम्बर ४ का कुलानन्द भण्डारीलाई राष्ट्रिय परिचयपत्र वितरण गरे ।
राष्ट्रिय परिचयपत्र प्राप्त गर्ने प्रकृयामा सबैलाई सहभागी गराउन मन्त्री ज्ञवालीले आग्रह गरे । उनले यो परिचयपत्र नागरिकताभन्दा पनि बढी उपयोगी हुने उल्लेख गरे । जैविक र वैयक्तिक विवरण समावेश हुने हुँदा यो निकै उपयोगी र महत्वपूर्ण रहेको उनले दावी गरे ।
प्रमुख जिल्ला अधिकारी शर्माका अनुसार यहाँ अहिलेसम्म १ लाख सात हजार ३२३ जनाले परिचय पत्र प्राप्त गर्न विवरण दर्ता गराएका छन ।
परिचयपत्रमा नागरिकका वैयक्तिक विवरण र जैविक विवरण लिइन्छ । यस्तो विवरण अन्तर्गत नाम थर, ठेगाना, जन्म मिति, बुबाआमा, हजुरबुवा, हजुरआमा, पतिपत्नी तथा जैविक विवरणमा १० औंलाको छाप, आँखाको नानीको फोटो र डिजिटल हस्ताक्षर राखिन्छ ।
प्रतिक्रिया